राजापुर र टीकापुर पालिकाद्वारा कर्णालीको शक्तिघाट नेपालकै पहिलो मत्स्य अभयारण्य घोषणा
बर्दिया, पुस २५
बर्दिया र कैलालीको सिमानामा पर्ने कर्णाली नदीको शक्तिघाट क्षेत्रलाई नेपालकै पहिलो मत्स्य अभयारण्य घोषणा गरिएको छ। राजापुर नगरपालिका र टीकापुर नगरपालिकाले संयुक्त रूपमा शक्तिघाट पुल आसपासको करिब चार वर्गकिलोमिटर क्षेत्रलाई मत्स्य अभयारण्यका रूपमा तोकेका हुन्।

स्थानीयवासीको सक्रिय सहभागितामा माछा तथा अन्य जलचरको संरक्षण गर्ने उद्देश्यले अभयारण्य घोषणा गरिएको हो। राजापुर नगरपालिका–३ को टेडिया घाटदेखि वडा नं. ४ को छेदियाघाटसम्म तथा टीकापुर नगरपालिका–८ को फाँटादेखि अर्नवाघाटसम्मको नदी क्षेत्र यस अभयारण्यमा समेटिएको छ।
राजापुर नगरपालिकाका प्रमुख दिपेश थारूका अनुसार दुवै नगरपालिका र नदी तटीय क्षेत्रका बासिन्दाको सहमतिमा अभयारण्य घोषणा गरिएको हो। उहाँले तोकिएको क्षेत्रमा माछा मार्न जाल थाप्न पूर्ण रूपमा निषेध गरिएको जानकारी दिनुभयो। साथै, आसपासका क्षेत्रमा पनि प्रजनन समयबाहेक महाजाल, विषादी, करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्न नपाइने व्यवस्था गरिएको छ। “हामीले आजसम्म माछाको स्वाद चाखेका छौँ, अब हाम्रा छोरानातिले पनि माछाको स्वाद पाउनुपर्छ भन्ने सोचका साथ यो निर्णय गरिएको हो,” नगरप्रमुख थारूले भन्नुभयो। उहाँले माछा संरक्षणले स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने र भविष्यमा अध्ययन तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्नुभयो।

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौराले मत्स्य अभयारण्यलाई घोषणामा मात्र सीमित नराखी स्पष्ट कार्यविधि बनाएर कार्यान्वयन गरिने बताउनुभयो। उहाँका अनुसार नदी तटीय क्षेत्रका स्थानीयको सहभागितामा १५ वटा समूह गठन गरी संरक्षण कार्य सुरु गरिएको छ। सांस्कृतिक परम्परालाई पनि ध्यानमा राख्दै माछाको समयचक्रअनुसार मापदण्ड तयार गरी निश्चित अवधिमा सीमित रूपमा माछा मार्न अनुमति दिने योजना रहेको नगरप्रमुख डगौराले जानकारी दिनुभयो। माछामा निर्भर समुदायका लागि वैकल्पिक आयमूलक कार्यक्रम, माछापालनमा सहयोग तथा जीविकोपार्जन सुधारका योजना पनि अघि सारिएको छ। साथै, उक्त क्षेत्रमा अवैध तथा अव्यवस्थित नदीजन्य पदार्थ उत्खननमा पूर्ण रोक लगाइएको छ।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका प्रतिनिधि डा. घनश्याम गुरुङले कर्णालीको शक्तिघाट क्षेत्र नेपालमै पहिलो मत्स्य अभयारण्य भएको बताउँदै यस कदमलाई जलीय जैविक विविधता संरक्षणका लागि उदाहरणीय पहलको रूपमा मूल्याङ्कन गर्नुभयो। जलचर संरक्षणकर्मी विजयराज श्रेष्ठले अभयारण्य लागू भएपछि कर्णाली नदी अध्ययन र पर्यटनका लागि महत्वपूर्ण गन्तव्य बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार माछाको संरक्षणसँगै डल्फिन, ओत र घडियाल गोहीजस्ता दुर्लभ जलचरको संरक्षणमा समेत टेवा पुग्नेछ।
इस्मा गाउँपालिकामा जैढुङ्गा बिपी पार्क: जिल्लाका प्रतियोगिताको नयाँ गन्तव्य
साँगुरीगढी गाउँपालिकामा अज्ञात पुरुषको शव फेला
आँबुखैरहनी गाउँपालिकामा त्रिशूली किनारमा बसको अवशेष फेला
बडीमालिका नगरपालिकामा नमुना स्वास्थ्य सेवा: जुगाडा स्वास्थ्य चौकी प्रभावकारी
