कनकाई पालिकामा प्रेसर कुकर बम राखी आतङ्क फैलाउने व्यक्ति पक्राउ - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

कनकाई पालिकामा प्रेसर कुकर बम राखी आतङ्क फैलाउने व्यक्ति पक्राउ

बिर्तामोड, पुस २५ 

     झापाको कनकाई नगरपालिका–४ स्थित कोटीहवन माई पुलमा प्रेसर कुकर बम राखी आतङ्क फैलाएको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा कनकाई नगरपालिका–८ निवासी ५५ वर्षीय खगेन्द्र खरेल (सञ्जय)  रहेका छन्।

2-1767950528.jpg
   गत पुस १९ गते बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने माईखोला पुलनजिक सडकको उत्तरी भागमा शङ्कास्पद प्रेसर कुकर बम फेला परेको थियो। उक्त बम नेपाली सेनाको अरीदमन गणको टोलीले सुरक्षित रूपमा निष्क्रिय पारेको थियो। घटनापछि गरिएको अनुसन्धानका क्रममा बम राख्ने व्यक्ति खरेल भएको खुलेको प्रहरीले जनाएको छ।

4-1767950540.jpg
    जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले खरेललाई पक्राउ गरेको हो। उनी यसअघि जिल्ला प्रहरी कार्यालय सुनसरीअन्तर्गत झुम्का कारागारबाट फरार कैदीसमेत रहेको खुल्न आएको छ।    प्रेसर कुकर बमसँगै ‘सनातन सुरक्षा सेना नेपाल’ नामक समूहको पर्चा पनि फेला परेको प्रहरीले जनाएको छ। खरेल यसअघि पनि पटक–पटक यस्तै गतिविधिमा संलग्न भई पक्राउ पर्दै छुट्दै आएका व्यक्ति हुन्।

1-1767950527.JPG
   यसअघि २०८१ साल पुस महिनामा इटहरी उपमहानगरपालिका अगाडि शङ्कास्पद प्रेसर कुकर फेला परेपछि नेपाली सेनाको काली शक्ति गणको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको घटनामा पनि खरेल पक्राउ परेका थिए। त्यस्तै, २०७८ साल चैतमा इटहरी–२ नवजागृति टोलमा भएको बम विस्फोट घटनामा रबिन थापा र शेरजङ्ग गुरुङ घाइते भएका थिए, जसको नेतृत्व खरेलले गरेको प्रहरीको भनाइ छ।

3-1767950537.jpg
      जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र खड्काका अनुसार खरेलले पछिल्ला केही वर्षदेखि झापाको बिर्तामोड र दमक क्षेत्रमा समेत बम आतंक मच्चाउँदै आएका थिए। २०७८ सालअघि दुई वर्ष पाँच महिना कैद सजाय भुक्तान गरी छुटेपछि उनी पुनः यस्तै गतिविधिमा संलग्न हुँदै आएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार खरेल २०८१ साल चैतमा पनि पक्राउ परेका थिए र जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारमा कैद भुक्तान गरिरहेको अवस्थामा फरार भएका व्यक्ति हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार