बारेकोट पालिकामा सौर्य मिनिग्रिड बिग्रँदा चार महिनादेखि स्थानीय अन्धकारमा - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

बारेकोट पालिकामा सौर्य मिनिग्रिड बिग्रँदा चार महिनादेखि स्थानीय अन्धकारमा

जाजरकोट, पुस २५ 

     जाजरकोटको बारेकोट गाउँपालिका–५ खम्बुडाँडामा जडान गरिएको सौर्य मिनिग्रिड चार महिनादेखि सञ्चालनमा आउन नसक्दा स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन्। चट्याङका कारण प्रणालीमा क्षति पुगेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको हो।

1-1767951320.JPG
    स्थानीयका अनुसार सौर्य मिनिग्रिड मर्मत नहुँदा करिब पाँच सय घरधुरी प्रभावित भएका छन्। विद्युत् सेवा ठप्प हुँदा दैनिकी प्रभावित हुनुका साथै सूचना–सम्पर्क र सेवा प्रवाहमा समेत गम्भीर समस्या देखिएको छ।

2-1767951367.jpg
    विद्युत् नहुँदा विद्यार्थीको पढाइ प्रभावित भएको, मोबाइल चार्ज गर्न तथा आफन्तसँग सम्पर्क गर्न समेत कठिनाइ भइरहेको स्थानीयवासीले गुनासो गरेका छन्। राति उज्यालोको अभावमा सुरक्षा र स्वास्थ्यसम्बन्धी जोखिमसमेत बढेको उनीहरूको भनाइ छ।

Sobang-dhuri_hyVxfhindV-1767951365.webp
    दुई सय किलोवाट क्षमताको उक्त सौर्य मिनिग्रिड २०७९ जेठ २५ गतेदेखि सञ्चालनमा आएको थियो। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको सहयोगमा करिब १० करोड ९ लाख रुपैयाँको लागतमा निर्माण गरिएको यस आयोजनाबाट नेपाल टेलिकमको टावर सञ्चालनका लागि पनि विद्युत् आपूर्ति हुँदै आएको थियो।

4-1767951330.jpg
    बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले मिनिग्रिडमा क्षति पुगे पनि मर्मतका लागि आवश्यक प्रक्रिया टुंग्याउन समय लागेको बताउनुभयो। उहाँका अनुसार आयोजना हस्तान्तरणपछि मर्मत तथा व्यवस्थापनको जिम्मेवारी स्पष्ट नहुँदा ढिलाइ भएको हो।

3-1767951330.jpg
    जिल्ला प्रशासन कार्यालय जाजरकोटमार्फत सम्बन्धित मन्त्रालयमा मर्मतका लागि पत्राचार गरिसकिएको भए पनि समस्या समाधानमा अझै ढिलाइ भइरहेको जनाइएको छ। लामो समयदेखि विद्युत् सेवा अवरुद्ध रहँदा स्थानीय बासिन्दा आक्रोशित बन्दै गएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार