बागलुङ नगरपालिकामा धार्मिक र पर्यटकीय आकर्षण: शालिग्राम सङ्ग्रहालयको आम्दानी बढ्दै
बागलुङ, पुस २५
बागलुङ नगरपालिका–४ कुँडुले फेदीमा अवस्थित रङ्गवैंकटेश मुक्तिनारायण मन्दिर तथा शालिग्राम सङ्ग्रहालयले वार्षिक आम्दानी एक करोड रुपैयाँ नाघेको छ। धार्मिक तथा पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको सङ्ग्रहालयले पछिल्लो एक वर्षमा एक करोड २२ लाख रुपैयाँ आम्दानी गरेको हो। दुई सय मिटर लामो सुरुङभित्र व्यवस्थित रूपमा राखिएका एक लाख १५ हजारभन्दा बढी शालिग्राम दर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकबाट उक्त आम्दानी भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

मन्दिर व्यवस्थापन समितिका सचिव रामकृष्ण सापकोटाका अनुसार सो अवधिमा ७१ लाख ९९ हजार रुपैयाँ खर्च भएको छ। शालिग्रामलाई भगवान् विष्णुको अवतारका रूपमा पूज्ने परम्परा रहेकाले विशेषगरी भारतीय भक्तजनको आगमन बढ्दै गएको उहाँले बताउनुभयो। धार्मिक यात्रासँगै अन्य प्रयोजनले नेपाल आउने भारतीय पर्यटकको रोजाइमा शालिग्राम सङ्ग्रहालय पर्न थालेपछि आम्दानीमा उल्लेख्य वृद्धि भएको हो।

पोखरा पर्यटन परिषद्को पहलमा हालै भ्रमणमा आएका भारत उत्तरप्रदेश पर्यटन विभागका सहनिर्देशक दीपककुमार नेतृत्वको टोलीले सङ्ग्रहालयको अवलोकन गर्दै यसलाई छुटाउनै नहुने धार्मिक गन्तव्यका रूपमा प्रशंसा गरेको थियो। टोलीले शालिग्राम सङ्ग्रहालयको प्रचार–प्रसार भारतमा गर्ने र भारतीय पर्यटकलाई यहाँसम्म ल्याउने प्रतिबद्धता जनाएको छ।

सङ्ग्रहालयका संरक्षक ऋषि प्रपन्नाचार्यका अनुसार सुरुङभित्र राखिएका शालिग्राम हेर्न आउने दर्शनार्थीको संख्या हरेक वर्ष बढ्दै गएको छ। “देशकै प्रसिद्ध धार्मिक शक्तिपीठ मुक्तिनाथ जाने अधिकांश भक्तजनले शालिग्रामको अनिवार्य दर्शन गर्छन्,” उहाँले भन्नुभयो, “भारतवर्ष, नेपालको मधेश प्रदेश र मिथिला सभ्यतामा शालिग्रामको विशेष महत्व भएकाले ती क्षेत्रका पर्यटक बढी आकर्षित भइरहेका छन्।”
बागलुङको पहिचान झल्किने गरी सङ्ग्रहालयको प्रवेशद्वार बाघको मुखाकृतिमा निर्माण गरिएको छ। सङ्ग्रहालयको तथ्याङ्कअनुसार दक्षिण भारतका केरला, आन्ध्रप्रदेश, गुजरातलगायतका स्थानबाट भारतीय पर्यटक बढी आउने गरेका छन्। कतिपय पर्यटकले नेपालको पूर्वदेखि पश्चिमसम्म १० दिनको धार्मिक तथा सांस्कृतिक भ्रमण प्याकेजमा शालिग्राम सङ्ग्रहालयलाई अनिवार्य गन्तव्य बनाउने गरेका छन्। भारतबाट आउने धार्मिक पर्यटकले जनकपुर, लुम्बिनी, पशुपतिनाथ र मुक्तिनाथको यात्रासँगै शालिग्राम सङ्ग्रहालयलाई प्राथमिकतामा राख्न थालेका छन्।

यसैबीच, रङ्गवैंकटेश मुक्तिनारायण मन्दिर तथा शालिग्राम सङ्ग्रहालय व्यवस्थापन समितिको १० औँ अधिवेशनबाट स्वामी ऋषि प्रपन्नाचार्य अध्यक्षमा चयन हुनुभएको छ। उपाध्यक्षमा हरिप्रसाद उपाध्याय, सचिवमा रामकृष्ण सापकोटा र कोषाध्यक्षमा विदुर शर्मा पौडेल चयन हुनुभएको छ। सदस्यहरूमा रामप्रसाद शर्मा, ओमनाथ सापकोटा, इन्द्र श्रेष्ठ, हिमलाल आचार्य, धरणीधर सापकोटा, टीकाराम सापकोटा र गोविन्द पौडेल रहनुभएको छ।
काठमाडौँ महानगरपालिकाद्वारा सामुदायिक कुकुर व्यवस्थापन र रेबिज नियन्त्रण कार्यक्रम सञ्चालन
गोदावरी नगरपालिकामा नगरस्तरीय थारू माघ महोत्सव हुने
महालक्ष्मी नगरपालिकामा सक्खर उत्पादन आम्दानीको बलियो आधार
रुपा गाउँपालिकाको प्राथमिकतामा लसुन, प्याज र अदुवा खेती
