बडीमालिका नगरपालिकामा नमुना स्वास्थ्य सेवा: जुगाडा स्वास्थ्य चौकी प्रभावकारी
बाजुरा, पुस २५
बाजुराको बडीमालिका नगरपालिका–२ भौनेरामा अवस्थित जुगाडा स्वास्थ्य चौकीले प्रभावकारी सेवा प्रवाह गर्दै नमुना स्वास्थ्य संस्था बन्न सफल भएको छ। दुर्गम क्षेत्र, सीमित स्रोत–साधन र न्यून जनचेतनाबीच पनि स्वास्थ्य चौकीले प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरेको छ। स्थानीयहरूका अनुसार, स्वास्थ्य चौकीले कर्मचारी, जनप्रतिनिधि र समुदायको सहकार्यका कारण यहाँको स्वास्थ्य सेवा नमूना बन्न सफल भएको हो।
जुगाडा स्वास्थ्य चौकी २०३१ सालमा स्थापना भएको हो। हाल यहाँ दैनिक स्वास्थ्य परामर्श, चोकजाँच तथा उपचारका साथै गर्भवती महिलाको सुरक्षित सुत्केरी सेवा, किशोर–किशोरी मैत्री सेवा, खोप, पोषण, प्रजनन स्वास्थ्य, लैङ्गिक हिंसा सम्बन्धी सेवा, ल्याब, स्मार्ट हेल्थ, परिवार नियोजन र सुरक्षित गर्भपतन जस्ता कार्यक्रम सञ्चालन भइरहेको स्वास्थ्य चौकीका इन्चार्ज तिलक न्यौपानेले जानकारी दिनुभयो। स्वास्थ्य चौकीमा एक जना जनस्वास्थ्य निरीक्षक, ३ जना अनमी, २ जना अहेव, एक ल्याब कर्मचारी, एक सुइपर र एक कार्यालयसहित दरबन्दी अनुसार कर्मचारी कार्यरत छन्।

सेवाको गुणस्तर र नियमितताका कारण स्वास्थ्य चौकीमा सेवा लिन आउनेको संख्या हरेक वर्ष बढ्दै गएको छ। स्थानीय शारदा खत्रीका अनुसार, पहिले सामान्य चोकजाँच बाहेक राम्रो उपचार हुँदैनथ्यो, तर अहिले अन्य वडाबाट समेत बिरामी आउँछन्। हाल दैनिक १५ जनाभन्दा बढी बिरामी यहाँ उपचारका लागि आउँछन्। इन्चार्ज तिलकराज न्यौपानेले भने, “स्वास्थ्य सुधारको उद्देश्यका साथ स्थानीय सरकार, जनप्रतिनिधि र समुदायसँग सहकार्य गर्दै प्रभावकारी सेवा दिन लागेको हो। वडाध्यक्ष नै व्यवस्थापन समितिको अध्यक्ष भएकोले दैनिक सेवा र अन्य कार्यक्रम सञ्चालन गर्न सहज भएको छ।”

स्वास्थ्य चौकीले वडासँग मिलेर नियमित अनुगमन, कर्मचारी बैठक, स्वास्थ्य स्वयंसेविका र आमा समूहको मासिक बैठकमा खाजाको व्यवस्था, र समुदायको सक्रिय सहभागिता सुनिश्चित गरेको छ। सुत्केरी महिलालाई २४ घण्टा स्वास्थ्य चौकीमै बस्ने सुविधा पनि उपलब्ध गराइएको छ। वडाध्यक्ष डम्बर महतले वडाबासीको स्वास्थ्यमा सुधार ल्याउन साना सहयोग, बजेटको सदुपयोग र व्यवस्थापन आवश्यक भएको बताए। उनले स्वास्थ्य सेवा विभागको न्यूनतम गुणस्तर मापन प्रणाली र स्वमूल्यांकनका माध्यमबाट कर्मचारीलाई प्रोत्साहन दिने अभ्यास पनि अघि बढाइएको जानकारी दिनुभयो।

स्वास्थ्य चौकीले नियमित खोप अभियान, गर्भवती महिलाको अनुगमन, पोषण सुधार कार्यक्रम र विद्यालयमा स्वास्थ्य शिक्षा प्रदान गर्ने जस्ता गतिविधिहरू पनि सञ्चालन गर्दै आएको छ। यसको प्रभावले मातृ तथा शिशु मृत्युदरमा कमी आएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

चालू आर्थिक वर्षमा हालसम्म १,४९४ जना बिरामीले सेवा लिएका छन्। सो अवधिमा ३ जनाले सुत्केरी सेवा, १६ बालबालिकाले नियमित वृद्धि अनुगमन, १२ जनाले खोप सेवा र ५ बालबालिकाले पूर्ण खोप पाएका छन्। जुगाडा स्वास्थ्य चौकीले दृढ इच्छाशक्ति, सहकार्य र प्रतिबद्धताले दुर्गम क्षेत्रमा पनि प्रभावकारी स्वास्थ्य सेवा सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरेको छ। यसले बाजुराका अन्य दुर्गम क्षेत्र र स्वास्थ्य संस्थाका लागि प्रेरणा पनि दिएको छ।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
