इस्मा गाउँपालिकामा जैढुङ्गा बिपी पार्क: जिल्लाका प्रतियोगिताको नयाँ गन्तव्य
गुल्मी, पुस २८
सदरमुकाम तम्घासको चिदिचौर खेलमैदान निर्माणाधीन भएपछि गुल्मीमा हुने अधिकांश खेलकुद प्रतियोगिताको गन्तव्य इस्मा गाउँपालिका–१ स्थित जैढुङ्गा बिपी पार्क बन्न थालेको छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको क्रिकेट रङ्गशालासहितको पार्कमा पछिल्लो समय जिल्लादेखि स्थानीय तहसम्मका विभिन्न प्रतियोगिता निरन्तर सञ्चालन भइरहेका छन्।

यसअघि फोर्टिन स्टार युवा क्लबले प्रत्येक वर्ष तम्घासमै जिल्ला स्तरीय छात्र फुटबल प्रतियोगिता आयोजना गर्दै आएको थियो। तर चिदिचौर मैदान निर्माणको काम चलिरहेकाले यस वर्ष प्रतियोगिता गर्ने कि नगर्ने भन्ने अन्योल थियो। इस्मामा आधुनिक खेलमैदान बनेपछि क्लबले जैढुङ्गा बिपी पार्कमै प्रतियोगिता आयोजना गरेको क्लब अध्यक्ष नारायण आचार्यले बताउनुभयो। उहाँका अनुसार क्रिकेट मैदानलाई अस्थायी रूपमा फुटबल मैदानका रूपमा प्रयोग गरी प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिएको हो। सदरमुकामबाट करिब १४ किलोमिटर टाढा रहेको यो मैदान अहिले जिल्लाकै खेलकुद गतिविधिको मुख्य केन्द्र बनेको छ। यस वर्ष जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड, छात्रा फुटबल प्रतियोगितालगायत कार्यक्रमहरू पनि सदरमुकाम बाहिर यही क्षेत्रमा सम्पन्न गरिएका छन्।

एक महिनामै पाँच प्रतियोगिता
जैढुङ्गा बिपी पार्कमा पछिल्लो एक महिनामै पाँचवटा विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भएका छन्। सबैभन्दा पहिले मङ्सिर २० देखि २५ गतेसम्म परिवर्तन युवा क्लबले आयोजना गरेको क्रिकेट प्रतियोगितामा १० टोली सहभागी थिए, जसको उपाधि रूपन्देहीको देवहद युवा क्लबले जितेको थियो। त्यसपछि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र पत्रकार महासङ्घबीच मैत्रीपूर्ण खेल, फोर्टिन स्टार युवा क्लबद्वारा पुस ८ देखि १० गतेसम्म विद्यालय स्तरीय फुटबल प्रतियोगिता, पुस १५ गते विद्युत् कर्मचारी र पत्रकारबीच मैत्रीपूर्ण क्रिकेट तथा पुस २४ देखि २६ गतेसम्म राष्ट्रपति रनिङ शिल्ड सम्पन्न भएका छन्।अब आगामी माघ ६ देखि १० गतेसम्म तम्घासको खुकुरी युवा क्लबले विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने वडा नम्बर १ का वडाध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिनुभयो।

स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव
वडाध्यक्ष कुँवरका अनुसार पार्कमा खेलकुद, घुमफिर र पिकनिक गतिविधि बढेपछि स्थानीय अर्थतन्त्र चलायमान भएको छ। होटल व्यवसाय, चटपटे, फलफूल व्यवसायजस्ता साना व्यापार फस्टाउनुका साथै स्थानीय उत्पादनको बिक्री बढेको र घडेरीको मूल्यसमेत वृद्धि भएको उहाँको भनाइ छ। युवामा क्रिकेटप्रतिको आकर्षण बढ्दै गएपछि इस्मा गाउँपालिकाले सार्वजनिक जग्गा सदुपयोग गर्दै बिपी पार्कको नाममा क्रिकेट रङ्गशाला निर्माण गरेको हो। मदन भण्डारी राजमार्गको छेउमै रहेको यो पार्कको काम २०७९ सालदेखि सुरु भएको थियो। गाउँपालिका उपाध्यक्ष तथा प्रवक्ता पार्वती कुँवरका अनुसार २०७९ मा पाँच लाख, २०८०/८१ मा एक करोड र २०८१/८२ मा एक करोड २३ लाख रुपैयाँ लगानीमा खेलमैदानसहितको संरचना तयार गरिएको हो।
पार्कमा माटो बिछ्याउने, नदी किनारमा पर्खाल, ग्याभिन जाली, तारजाली घेराबार, बगैँचा, पिकनिक संरचना, फलफूलका बिरुवा, पिउने पानी, पार्किङ र शौचालयजस्ता पूर्वाधार निर्माण गरिएको छ। “खेलकुदको नयाँ केन्द्रका रूपमा यो मैदान विकास गरेका छौँ,” उपाध्यक्ष कुँवरले भन्नुभयो, “आगामी दिनमा जिल्लाको खेल पर्यटन प्रवर्द्धन गर्ने हाम्रो लक्ष्य छ।”
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
