मोदी गाउँपालिकामा ‘एक घर एक धारा’ योजना सम्पन्न
पर्वत, पुस २९
पर्वतको मोदी गाउँपालिका–६ तिलाहारस्थित ठानागाउँमा ‘एक घर एक धारा’ खानेपानी योजना सफलतापूर्वक सम्पन्न भएको छ। लामो समयदेखि खानेपानीको गम्भीर अभाव झेल्दै आएको यस बस्तीमा अब प्रत्येक घरमा धारा जडान गरिएको छ। यसअघि स्थानीयवासीले करिब एक घण्टा तल रहेको रतीखोला र मोदीखोलाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता थियो।

ठाना खानेपानी तथा सरसफाइ परियोजनाअन्तर्गत ८२ घरपरिवार रहेको बस्तीमा ७८ वटा व्यक्तिगत धारा र चार वटा सामुदायिक धारा जडान गरिएको छ। आयोजनाबाट प्रतिदिन ३८ हजार ७८९ लिटर पानी आपूर्ति हुने जनाइएको छ। बस्तीभन्दा करिब साढे दुई किलोमिटर माथि रहेको कमल स्वाराको मुहानबाट जिआई र प्लास्टिक पाइप प्रयोग गरी फिल्टर तथा वितरण ट्याङ्कीमार्फत घर–घरमा पानी पुर्याइएको हो।

नेपाल रेडक्रस सोसाइटी कास्कीको व्यवस्थापन, युनिका फाउन्डेसन दी नेदरल्यान्डको आर्थिक सहयोग र मोदी गाउँपालिकाको साझेदारीमा तथा स्थानीय उपभोक्ताको श्रमदानमा आयोजना सम्पन्न भएको हो। परियोजनाका अध्यक्ष कमलबहादुर केसीका अनुसार युनिका फाउन्डेसन दी नेदरल्यान्डबाट ८३ लाख ३४ हजार ७२० रुपैयाँ, मोदी गाउँपालिकाबाट २४ लाख ९६ हजार १२९ रुपैयाँ र समुदायबाट २७ लाख ७८ हजार ७७३ रुपैयाँ बराबरको श्रमदान जुटाइएको थियो। यसरी कुल एक करोड ३६ लाख १० हजार ६२२ रुपैयाँ लागतमा आयोजना सम्पन्न भएको उहाँले जानकारी दिनुभयो।

युनिका फाउन्डेसन दी नेदरल्यान्डका कार्यकारी प्रमुख रमेशराज पौडेलले खानेपानीको अभावका कारण गाउँबाट बसाइँसराइ बढेको खबर पाएपछि सहयोग गरिएको बताउनुभयो। उहाँले आयोजना सञ्चालनमा आउनु मात्र नभई यसको दिगो व्यवस्थापन र नियमित मर्मतसम्भार अत्यन्त महत्वपूर्ण हुने भन्दै मर्मत कोष स्थापना गर्नसमेत आग्रह गर्नुभयो। स्थानीय नन्दलाल सुवेदीका अनुसार आयोजना सञ्चालनमा आएपछि ठानागाउँ र आसपासका बस्तीका करिब ५०० जना प्रत्यक्ष लाभान्वित भएका छन्। वर्षौँदेखिको सपना पूरा भएको बताउँदै उहाँले यसले खानेपानीको समस्या समाधान मात्र नभई कृषि तथा आयआर्जनका गतिविधि विस्तारमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

गण्डकी प्रदेशसभा सदस्य भक्त कुँवरले आफ्नो निर्वाचन क्षेत्रमा खानेपानी, सडक, सिँचाइ र विद्युत् जस्ता आधारभूत पूर्वाधार विकासका लागि निरन्तर पहल गरिरहेको बताउनुभयो।
पाँचखाल नगरपालिकामा चुनावी एजेन्डा बन्यो आलुको मूल्य र मल अभाव
भोजपुर नगरपालिकामा सुन्तलाका बोट सुक्न थालेपछि किसान समस्यामा
विष्णुपुर गाउँपालिकामा सरस्वती पूजाको तयारी, मूर्तिकारहरू शृङ्गारमा व्यस्त
हेटौँडा उपमहानगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
