चौदण्डीगढी र आमचोक गाउँपालिकाबीचको रानीटार पुलले फेरि गति लियो
गाईघाट, माघ १
उदयपुर र भोजपुर जिल्लालाई जोड्ने रानीटारस्थित सुनकोशी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुलको काम आठ वर्षपछि तीव्र रूपमा अगाडि बढेको छ। लामो समयदेखि प्राविधिक समस्याका कारण अलपत्र परेको पुल निर्माणले चालु आर्थिक वर्षदेखि गति लिएको हो। सम्झौता अनुसार पाँच वर्षभित्र सम्पन्न हुनुपर्ने पुल विभिन्न प्राविधिक जटिलताका कारण निर्धारित समयमा पूरा हुन सकेन। सुरुमा तयार गरिएको डिजाइन कार्यान्वयनमा समस्या आएपछि नयाँ प्रविधिमा डिजाइन परिवर्तन गर्नुपर्दा निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीका साइट इन्चार्ज हरि ज्ञवालीले बताए।

उदयपुरको चौदण्डीगढी नगरपालिका–१ रानीटार र भोजपुरको आमचोक गाउँपालिका–५ लाई जोड्ने उक्त पुल लामो समयसम्म अधुरो अवस्थामा थियो। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको पुल आठ वर्षसम्म अलपत्र परेपछि स्थानीयवासीले निरन्तर असन्तुष्टि जनाउँदै आएका थिए। डिजाइन परिवर्तनपछि चालु आर्थिक वर्षमा निर्माण कार्यले तीव्रता पाउँदा पुलको भौतिक प्रगति ६० प्रतिशत र वित्तीय प्रगति ५० प्रतिशत पुगेको पुल सेक्टर धरानका सूचना अधिकारी इन्जिनियर आविष्कार तिम्सिनाले जानकारी दिए।

पुल निर्माणको जिम्मा रसुवा स्वच्छन्द एसएनएस पप्पु (जेभी) ज्वाइन्ट भेन्चरले लिएको हो। २५ करोड रुपैयाँ लागतमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ३० असार २०७३ मा ठेक्का सम्झौता गरिएको थियो। सुरुमा सुनकोशी नदीमा ६ वटा प्रि–वेल फाउन्डेसन प्रयोग गरी २०० मिटर लम्बाइ र ११ मिटर चौडाइको मोटरेबल पक्की पुल निर्माण गर्ने सम्झौता भएको थियो।

तर नदीको बीच भागमा प्रि–वेल फाउन्डेसन निर्माण गर्न नसकिने प्राविधिक समस्या देखिएपछि २०८० फागुन २८ गते ‘पाइल’ फाउन्डेसन प्रविधिमा डिजाइन परिवर्तन गरी पुनः निर्माण कार्य सुरु गरिएको हो। हाल पुलका सबै ६ वटा पिलर पाइलिङ प्रविधिबाट निर्माण भइरहेको छ।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
