वीरगञ्ज महानगरपालिकामा खानेपानी समस्या:नेपाली सेनाले दैनिक पानी वितरण
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा अहिले गम्भीर खानेपानी संकट देखा परेको छ। चापाकल, इनार र कुवा जस्ता परम्परागत पानीका स्रोतहरू सुक्न थालेपछि स्थानीय जनजीवन प्रभावित भएको छ। दैनिक आवश्यकीय पानीको अभावका कारण स्थानीयवासीहरु ठूलो समस्या भोग्न बाध्य छन्।यस समस्या समाधानका लागि नेपाली सेनाले सक्रियता देखाउँदै वीरगञ्जका विभिन्न वडामा दैनिक तीन चरणमा पानी वितरण गरिरहेको छ।
नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वाटर अन्तर्गतको २८ सेना टोल,श्रीजंग गणले दमकल ६ वटा प्रयोग गरी दैनिक लगभग ९० हजार लिटर पानी उपलब्ध गराइरहेको छ। पानी वितरण बिहान ७ बजे, दिउँसो २ बजे र साँझ ६ बजे नियमित रूपमा सञ्चालन भइरहेकाले समुदायलाई केही सहजता मिलिरहेको छ।त्यसैगरी, वीरगञ्ज महानगरपालिकाले पनि खानेपानी अभाव भएको क्षेत्रमा नयाँ धारा स्थापना गर्ने काममा जुटेको छ।
वडा नं। २६ का अध्यक्ष शम्भु मिश्रका अनुसार, वडाका ९० प्रतिशतभन्दा बढी चापाकल सुकिसकेका छन्। वडाले दुई वटा बोरिङ खोदेर पानी व्यवस्थापन गर्ने प्रयास गरिरहेको भए पनि आवश्यक मात्रामा पानी पुग्न सकेको छैन।नेपाल खानेपानी संस्थानका शाखा प्रमुख प्रवीणकुमार साहले बताए अनुसार, संस्थान दैनिक ८० लाख लिटरभन्दा बढी पानी उत्पादन गरिरहेको भए पनि बजेट र पाइपलाइन बाहिर निस्कने कारण वितरण प्रणाली प्रभावकारी बनाउन कठिनाइहरू रहेका छन्।
वीरगञ्ज महानगरपालिकाले संघीय र प्रदेश सरकारसँग समन्वय गरी दीर्घकालीन रूपमा खानेपानी व्यवस्थापनका लागि योजनाहरु अघि बढाइरहेको जनाएको छ।

शुभकालिका गाउँपालिकामा पहिरो, कर्णाली राजमार्ग पुनः अवरुद्ध
