लोमान्थाङ गाउँपालिकामा जलवायु परिवर्तनको असरः अग्ला पहाड हिउँविहीन - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

लोमान्थाङ गाउँपालिकामा जलवायु परिवर्तनको असरः अग्ला पहाड हिउँविहीन

मुस्ताङ, माघ १ 

    जलवायु परिवर्तनको प्रभाव उपल्लो मुस्ताङमा स्पष्ट देखिन थालेको छ। एक दशकअघिसम्म नियमित रूपमा हिमपात हुने क्षेत्रहरूमा अहिले हिउँ नपर्दा अग्ला पहाडहरू कालापत्थरझैँ देखिन थालेका छन् भने चरन क्षेत्रमा च्याङ्ग्राका बथान चर्दै गरेको दृश्य सामान्य बनेको छ।

2-1768466248.jpg
   लोमान्थाङ गाउँपालिका–१, छोसेरका च्याङ्ग्रापालक किसान आङ्ग्याल गुरूङका अनुसार विगतमा चार महिनासम्म चरन क्षेत्रमा चार फिटसम्म हिउँ पर्दा च्याङ्ग्रालाई गोठसहित बस्तीमा सार्नुपर्ने अवस्था थियो। हिमपातका कारण दानापानीको जोहो गर्नुपर्थ्यो। तर पछिल्ला पाँच वर्षयता तापक्रम ऋणात्मक भए पनि समुद्री सतहदेखि करिब ४ हजार ७ सय मिटर उचाइमा समेत च्याङ्ग्रा चराइरहन सकिने अवस्था आएको छ।

1-1768466247.webp
   गुरूङ  जस्तै करिब १० जना च्याङ्ग्रापालक किसानका गोठ अझै पनि बस्तीभन्दा माथिका चरन क्षेत्रमा छन्। चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको कोरला नाकाका आसपासका पहाडहरूमा यस समयमा हिउँले सेताम्मे देखिनुपर्ने भए पनि अहिले त्यहीँ च्याङ्ग्राका बथान भेटिन थालेका छन्। “माघ लागिसक्यो, अझैसम्म हिमपात भएको छैन,” किसान गुरूङ भन्छन्, “जलवायु परिवर्तनले घाँसे मैदानसमेत खुम्चिँदै गइरहेको छ। नियमित हिमपात भएको भए चरन क्षेत्रमा घाँसको समस्या हुने थिएन।” चिसो क्रमशः बढ्दै गइरहे पनि हिमपात नहुँदा किसानहरू थप चिन्तित बनेका छन्।

1-1768466241.jpg
    पहिले कात्तिक महिनादेखि नै उपल्लो मुस्ताङका पहाड र हिमालमा हिमपात हुने गरेकोमा पछिल्ला वर्षहरूमा माघ महिनासम्म पनि हिमालहरू हिउँविहीन देखिन थालेका छन्। कोरला नाकामा व्यवसाय गर्दै आएका छोसेरका युवा पेमा छिरिङ गुरूङका अनुसार हिमपात नहुँदा कृषि, पशुपालन र पर्यटन सबै क्षेत्रमा नकारात्मक असर परेको छ। “धाराको पानी जमेर कतिपय ठाउँमा बरफ तताएर पानी प्रयोग गर्नुपर्ने बाध्यता छ,” उनले भने, “हिउँ नपर्दा स्थानीयवासी चिन्तित छन्।”

3-1768466241.jpg
     लोमान्थाङ गाउँपालिका–२ का वडा अध्यक्ष तथा आर्थिक समितिका संयोजक कर्म नाम्ङग्याल गुरूङका अनुसार अत्यधिक चिसोका कारण साना खोला, कुवा, खानेपानी धारा, सिँचाइ कुलो र घरका ट्याङ्कीसमेत जम्ने समस्या देखिएको छ। बिहान र बेलुकी न्यूनतम तापक्रम माइनस डिग्री सेल्सियसमा झरे पनि हिमपात नहुँदा चरन क्षेत्रमा पर्याप्त घाँस नहुने, कृषि उत्पादन घट्ने र पशुपालन संकटमा पर्ने अवस्था आएको वडा अध्यक्ष गुरूङले बताए। अनियमित हिमपातको असर उपल्लो मुस्ताङभर विस्तारै देखिन थालेको छ।

1-1768466419.PNG
      कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख डा. लालमणी अर्यालका अनुसार समयअगावै स्याउ फुल्ने, चरन क्षेत्रमा घाँसको अभाव हुने र विभिन्न रोग फैलिने जोखिम बढेको छ। “हिउँ नपर्नु कृषि र पशुपालन दुवैका लागि ठूलो संकट हो,” डा. अर्याल भन्छन्, “नियमित हिमपात नहुँदा वैकल्पिक योजना र अनुकूलन कार्यक्रम आवश्यक भइसकेका छन्।” उनका अनुसार भेडा, च्याङ्ग्रा, याक–चौरीलगायत पशुपालन तथा स्याउ र अन्य कृषिजन्य बालीमा देखिने किराको प्रकोप न्यूनीकरण गर्न विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने अवस्था आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार