बन्दीपुर गाउँपालिकाले चिनायो चुनपहरा, चट्टान आरोहणको केन्द्र बन्दै - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

बन्दीपुर गाउँपालिकाले चिनायो चुनपहरा, चट्टान आरोहणको केन्द्र बन्दै

तनहुँ, माघ २ 

     पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडकखण्डमा पर्ने तनहुँको बन्दीपुर गाउँपालिका–४, विमलनगरस्थित चुनपहरामा यतिबेला चट्टान आरोहण (रक क्लाइम्बिङ) गर्नेहरूको उल्लेख्य चहलपहल देखिन थालेको छ। हिउँद याम सुरु भएसँगै यहाँ स्वदेशी तथा विदेशी साहसिक खेलाडी, पर्वतीय पथ प्रदर्शक (माउन्टेन गाइड र नेपाल प्रहरीका जोखिम उद्धार टोलीले प्रशिक्षण लिइरहेका छन्।

2-1768564466.jpg
      हिमाल आरोहणमा जानुअघि अभ्यास स्थलका रूपमा प्रयोग हुँदै आएको चुनपहरा पछिल्लो समय व्यवस्थित प्रशिक्षण केन्द्रको रूपमा विकसित हुँदै गएको छ। पर्वतीय पथ प्रदर्शक उत्पादन गर्ने उद्देश्यले विभिन्न सङ्घसंस्थाले यहाँ नियमित रूपमा तालिम सञ्चालन गर्दै आएका छन्। नेपाल पर्वतीय पदयात्रा र साहसिक पर्यटनका लागि उपयुक्त मानिने यस क्षेत्रलाई विदेशी पर्यटक आकर्षित गर्ने गन्तव्य बनाउने लक्ष्य लिइएको सिद्धगुफा संरक्षण समितिका संस्थापक अध्यक्ष लालकुमार श्रेष्ठले जानकारी दिनुभयो।

1-1768564676.jpg
    उहाँका अनुसार, “पहिला सडक विस्तारका क्रममा पहरा काट्ने योजना थियो, तर हामीले यसलाई साहसिक खेलको केन्द्रको रूपमा विकास गर्ने निर्णय गर्यौँ। अहिले यहाँ चट्टान आरोहण मात्र होइन, नेपाल प्रहरीको जोखिम उद्धार टोलीका लागि पनि प्रशिक्षण सञ्चालन भइरहेको छ।” नेपाल पर्वतारोहण प्रशिक्षक सङ्घ, गैरीधारा काठमाडौँले यहाँ राष्ट्रियस्तरको प्रमाणपत्र प्राप्त दक्ष पर्वतीय पथ प्रदर्शक उत्पादन गर्ने लक्ष्यसहित एकहप्ते प्रशिक्षण सञ्चालन गरिरहेको जनाएको छ। सङ्घका महासचिव पासाङ टेण्डी शेर्पाका अनुसार हाल १७औँ चरणको तालिम चलिरहेको छ। “चट्टान आरोहण केवल साहसिक खेल मात्र होइन, यो मानसिक र शारीरिक स्वास्थ्यसँग पनि जोडिएको छ,” शेर्पाले भन्नुभयो, “यहाँको प्राकृतिक चट्टान संरचना सुरक्षित र अभ्यासका लागि उपयुक्त छ।”4-1768564467.jpg    सङ्घका अनुसार, यसपटक एक महिला र ४३ पुरुष गरी ४४ जना प्रशिक्षार्थीलाई तालिम दिइँदै छ। सीमित क्षेत्र भएकाले सीमित सङ्ख्यामा मात्रै प्रशिक्षण दिन सकिने सङ्घका सिनियर प्रशिक्षक लाक्पा राङ्कु शेर्पाले बताउनुभयो। चट्टान आरोहणपछि आइस क्लाइम्बिङ गराएर मात्र प्रशिक्षार्थीलाई पथ प्रदर्शकको प्रमाणपत्र दिइने व्यवस्था रहेको उहाँको भनाइ छ। प्रशिक्षक लाक्मी शेर्पाका अनुसार पछिल्लो समय महिलाको सहभागिता पनि बढ्दै गएको छ। “जोखिम र साहसिक खेलमा महिलाको आकर्षण बढ्दो छ, तर अझै पनि दक्ष महिला पथ प्रदर्शकको सङ्ख्या कम छ। महिलाले पनि यो क्षेत्र रोज्न सकिन्छ भन्ने सन्देश दिन जरुरी छ,” उहाँले भन्नुभयो।

3-1768564677.jpg
    स्थानीयवासीका अनुसार सिद्धगुफा र चुनपहरा क्षेत्रको प्राकृतिक सौन्दर्य, सुरक्षित चट्टान संरचना र पृथ्वी राजमार्गसँगको सहज पहुँच हुँदाहुँदै पनि प्रचार–प्रसारमा भने कमी देखिएको छ। विसं २०६४ मा अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक र स्थानीयवासीले संयुक्त रूपमा प्रारम्भिक अन्वेषण गरेपछि यहाँ क्रमशः चट्टान आरोहण गतिविधि बढ्दै गएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार