राप्ती सोनारी गाउँपालिकाद्वारा गाईभैँसी सुत्केरी भत्ता कार्यक्रम लागू
नेपालगन्ज, माघ २
बाँकेको राप्ती सोनारी गाउँपालिकाले पशुपालक किसानलाई राहत दिन तथा दुध उत्पादनलाई निरन्तरता दिन ‘पशु सुत्केरी भत्ता’ कार्यक्रम सुरु गरेको छ। गाउँपालिकाको पशु सेवा शाखामार्फत सुत्केरी गाईभैँसीका धनीलाई नगद र पोषण सामग्री गरी दुई हजार रुपियाँ बराबरको अनुदान प्रदान गरिने व्यवस्था गरिएको छ।

कार्यक्रमअन्तर्गत एक हजार रुपियाँ नगद र एक हजार रुपियाँ बराबरको भिटामिन, मिनरल तथा पशु आहार उपलब्ध गराइनेछ। गाउँपालिकाले जारी गरेको कार्यविधिअनुसार सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित निवेदन दिएपछि अनुदान प्रक्रिया अघि बढाइने जनाइएको छ।

राप्ती सोनारी क्षेत्रलाई पशुपालनका लागि उपयुक्त मानिँदै आएको छ। यहाँका अधिकांश परिवार गाईभैँसी पालन र दूध उत्पादनमा निर्भर छन्। सुत्केरी अवधिमा पर्याप्त पोषण र स्याहार नपाउँदा पशुको स्वास्थ्य कमजोर हुने, बाच्छाबाच्छीको विकास प्रभावित हुने र दुध उत्पादन घट्ने समस्या देखिँदै आएको भन्दै त्यसलाई सुधार गर्न ‘पशु सुत्केरी अनुदान सञ्चालन कार्यविधि २०८१’ जारी गरिएको गाउँपालिकाको पशु सेवा शाखा प्रमुख जयबहादुर कार्कीले बताउनुभयो।

उहाँका अनुसार, कार्यविधिमा लैनो अवस्थामा दुधालु गाईभैँसीको थप स्याहार, उचित पोषणमार्फत दुध उत्पादन कायम राख्ने, नवजात बाच्छाबाच्छीको मृत्युदर घटाउने तथा तौल र गुणस्तर सुधार गर्ने लक्ष्य राखिएको छ। साथै पशुको दुई वेतबीचको अन्तर कम गरी उत्पादन लागत घटाउने उद्देश्यसमेत समेटिएको छ।

गाउँपालिकाका उपाध्यक्ष मनिषासिंह थारुले सुत्केरीपछिका पहिलो दुई महिना सबैभन्दा संवेदनशील हुने भएकाले यस अवधिमा पोषणयुक्त दाना, भिटामिन र मिनरल उपलब्ध गराएर किसानलाई सहयोग गर्ने योजना अघि सारिएको बताउनुभयो। “यो कार्यक्रम किसानलाई राहत दिनुका साथै दुध उत्पादनलाई स्थिर राख्दै पशु स्वास्थ्यलाई दीर्घकालीन रूपमा सुधार गर्ने उद्देश्यले ल्याइएको हो,” उहाँले भन्नुभयो।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
