घरपझोङ गाउँपालिकाद्वारा जोमसोमको परम्परागत पानीघट्ट स्तरोन्नति
मुस्ताङ,६ माघ
घरपझोङ गाउँपालिका–४ जोमसोममा लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको परम्परागत पानीघट्टको मर्मतसम्भार तथा स्तरोन्नति गरिएको छ । स्थानीय महिलाको नेतृत्व विकास, आदिवासी तथा परम्परागत प्रविधिको संरक्षण र जलवायु अनुकूलनलाई लक्ष्य गर्दै जीर्ण अवस्थामा पुगेका पानीघट्ट र यससँग सम्बन्धित भौतिक संरचनाको पुनर्निर्माण गरिएको हो ।

क्यानेडाली सरकारको क्यानडा फन्ड फर लोकल इनिसिएटिभ (सिएफएलआई) को आर्थिक सहयोगमा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण कोष नेपाल (आइसीयुएन) ले यो योजना कार्यान्वयनमा ल्याएको हो । घरपझोङ गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र जोमसोम महिला समूहको सहकार्यमा स्थानीय महिला उपभोक्ता समितिमार्फत पानीघट्टको मर्मत तथा स्तरोन्नति सम्पन्न गरिएको आइसीयुएन नेपालका कार्यक्रम निर्देशक युवराज गुरागाईँले जानकारी दिनुभयो । उहाँका अनुसार करिब नौ लाख ३४ हजार रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।

जोमसोम महिला समूहकी अध्यक्ष भुवन शेरचनका अनुसार सदियौँअघि पुर्खाहरूले निर्माण गरेका पानीघट्ट यहाँको ऐतिहासिक र सांस्कृतिक पहिचान हुन् । आधुनिक प्रविधिको प्रयोग बढ्दै गए पनि पानीघट्टको मौलिकता र विशिष्टता जोगाइराख्न आवश्यक रहेको उहाँले बताउनुभयो । विकास ठूला संरचना निर्माणमा मात्र सीमित नभई संरक्षण र संवर्द्धनमा पनि केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ।पानीघट्ट पुनः सञ्चालनमा आएसँगै जोमसोम क्षेत्रका करिब दुई सय घरपरिवार प्रत्यक्ष लाभान्वित हुने घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष जमुना थकालीले बताउनुभयो । उहाँका अनुसार यस योजनाअन्तर्गत पानीघट्टको पुरानो संरचना पुनर्निर्माण, पानी संकलनका लागि ड्याम निर्माण तथा आवश्यक उपकरणको व्यवस्थापन गरिएको छ ।
-1768895335.jpg)
विद्युतीय सुविधा नहुँदा अघिल्लो पुस्ताले यही पानीघट्ट प्रयोग गरी अन्न पिस्ने गरेका थिए । पानीघट्टमा पिसिएको पीठो स्वादिलो, पोषिलो र दीर्घकालीन रूपमा टिकाउ हुने मानिन्छ । मर्मतपछि यहाँ उवा, जौँ, फापर, मकै, गहुँ र फापरको सुकेको पात ९ढाप्रा० जस्ता परम्परागत बाली पिस्ने प्रचलन फेरि सुरु भएको छ ।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
