घ्याङलेख गाउँपालिकास्थित नेपाल एसबिआई बैंक लुटपाटमा घरधनीकै संलग्नता, सात जना पक्राउ
सिन्धुली,माघ ७
सिन्धुलीमा भएको ठुलो परिमाणको बैंक लुटपाट घटनामा बैंक रहेको घरका घरधनीकै संलग्नता रहेको खुलासा भएको छ। प्रहरीले घटनामा संलग्न सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। अनुसन्धानका क्रममा लुटपाटको योजना करिब तीन महिनाअघि नै बनाइएको र यसअघि दुई पटक लुटको प्रयाससमेत गरिएको खुलेको छ।

गत पुस २९ गते घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबिआई बैंक शाखाबाट अज्ञात समूहले तीन करोड सात लाख रुपैयाँ लुटेको थियो। सो घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले शुक्रबार सात जनालाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा काभ्रे जिल्लाका भागवत सिंह थापा, सिन्धुलीका चतुरमान बज्यु, विवेक मगर र छविलाल स्याङ्तान, चितवनका शशांक श्रेष्ठ, नुवाकोटका मिलन गिरी तथा एक नाबालक रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार छविलाल स्याङ्तान बैंक सञ्चालन भइरहेको घरका घरधनी नै हुन्। लुटपाटको योजनामा उनी र उनका जेठान चतुरमान बज्यु मुख्य योजनाकार रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। पुस २९ गते बेलुका करिब साढे ७ बजेतिर खुकुरी र पेस्तोल बोकेका, अनुहार ढाकेका लुटेराहरू बैंकभित्र प्रवेश गरेका थिए। उनीहरूले सुरक्षागार्ड रुद्रबहादुर कार्कीमाथि खुकुरी प्रहार गरी घाइते बनाएका थिए। त्यसपछि बैंकका कर्मचारी र सुरक्षागार्डलाई दुई कोठामा थुनेर भल्टमा रहेको रकम बोरा र झोलामा भरेर जंगलतर्फ फरार भएका थिए।

घटनाको जानकारी पाएलगत्तै एसपी सुवेदीको कमाण्डमा ५० जनाभन्दा बढी प्रहरी परिचालन गरिएको थियो। स्थानीयवासीको सहयोगमा प्रहरीले जिल्लाका नाकाहरू कडा गर्दै व्यापक स्वीप अपरेशन सञ्चालन गरेको थियो। खोजीका क्रममा घटनास्थलबाट करिब दुई किलोमिटर टाढा बिएडी ०३९८ नम्बरको गाडी र चालक भागवत सिंह थापालाई नियन्त्रणमा लिइएको थियो। प्रारम्भिक सोधपुछमा उनीहरूले ‘केटी भगाउने’ बहानामा बनेपाबाट गाडी रिजर्भ गरी सिन्धुली आएको बताएका थिए।

जंगल क्षेत्रमा खोजी गर्दा प्रहरीले विभिन्न स्थानमा लुकाइराखिएको एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ बरामद गरेको छ। पुस ३० गते बिहान घ्याङलेख–१ सुकाचुरीबाट थप चार जनालाई पक्राउ गर्दा उनीहरूबाट ५ लाख ९ हजार ६७५ रुपैयाँ फेला परेको थियो। साथै उनीहरूले लुकाएको थप ८३ लाख ३५ हजार रुपैयाँसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट नकाब, पञ्जा तथा नक्कली प्लास्टिकको पेस्तोललगायत सामग्री पनि नियन्त्रणमा लिएको छ। अनुसन्धानका क्रममा घरधनी छविलाल स्याङ्तान र चतुरमान बज्युको केन्द्रीय भूमिका पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार लुटपाटको योजना गत असोजमै तयार पारिएको थियो। पुस २३ र पुस २८ गतेसमेत लुट गर्ने प्रयास गरिए पनि अवस्था अनुकूल नभएकाले योजना स्थगित गरिएको र अन्ततः पुस २९ गते लुटपाट सफल भएको खुलेको छ।
बेनी नगरपालिकामा ११ वर्षपछि सुवासलाई आमाको नामबाट नागरिकता
खजुरा गाउँपालिकाले २८ ऐन–कानुन बनाएर सेवा प्रवाह प्रभावकारी बनायो
पालिकाकेन्द्रित विकास बहससँगै काठमाडौँ–१० मा चुनावी सरगर्मी
सरावल गाउँपालिकामा विद्यालयको जग्गाबाट माटो बिक्री, अध्यक्ष र बिचौलियाविरुद्ध मुद्दा
