फाल्गुनन्द गाउँपालिकाको पुरस्कार नीतिले किसानको उत्पादनमा उछाल
पाँचथर,९ माघ
पाँचथर र इलामका गाउँपालिकाहरूले कृषिमा उत्कृष्ट उत्पादन गर्ने किसानलाई नगद पुरस्कार र सम्मान दिन थालेपछि खेतीप्रति आकर्षण बढेको छ। धान, मकै, आलु तथा नगदे बालीमा उच्च उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्ने यी कार्यक्रमले बाँझो जमिनमा समेत खेती विस्तार हुन थालेको छ भने उत्पादनमा उल्लेख्य सुधार देखिएको छ। पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का २९ वर्षीय किसान दिप्सन चेम्जोङ यस वर्ष सबैभन्दा धेरै धान उत्पादन गर्ने किसान बनेका छन्। आफ्नै १० रोपनी जमिन र थप ३५ रोपनी अधियाँ तथा कुतमा लिएर खेती गरेका उनले यस वर्ष २ सय २९ मुरी ५ पाथी धान उत्पादन गरे। पहाडी क्षेत्रमा प्रतिरोपनी औसत पाँच मुरी मात्रै धान फल्ने मानकभन्दा धेरै उत्पादन गरेपछि उनी गाउँपालिकाको सर्वोत्कृष्ट किसान घोषित भएका हुन्।
-1769149544.jpg)
फाल्गुनन्द गाउँपालिका–१ का मकरबहादुर तामाङले यस वर्ष १ सय ५८ मुरी ८ पाथी धान उत्पादन गरेका छन्। अघिल्ला दुई वर्ष लगातार सर्वोत्कृष्ट किसान बनेका उनी यस वर्ष बाढीले केही खेत बगाएपछि दोस्रो स्थानमा सीमित भए। “५० मुरीभन्दा बढी धान फल्ने खेत बगाए पनि दोस्रो हुन सफल भएँ,” उनले बताए। दिप्सन र मकरबहादुरजस्ता अधिकांश किसानको खेत खोलाको बगर र पाखा–पखेरामा छन्। यस्ता भिरालो जमिनमा परम्परागत रूपमा खेती गर्दा पनि उल्लेख्य उत्पादन हुनुको कारण गाउँपालिकाले घोषणा गरेको पुरस्कार प्रणाली भएको किसानहरू बताउँछन्। फाल्गुनन्द गाउँपालिकाले २०८० सालदेखि ५० मुरीभन्दा बढी धान उत्पादन गर्ने किसानलाई ३० हजार र एक सय मुरीभन्दा बढी उत्पादन गर्नेलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिने नीति लागू गरेको छ। गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेका अनुसार युवा पलायन र उर्बर जमिन बाँझिने समस्या बढ्दै गएपछि किसानलाई प्रोत्साहन गर्न यस्तो नीति ल्याइएको हो।

धान उत्पादनको यथार्थ मूल्यांकन गर्न जनप्रतिनिधि र कर्मचारी धान काटेर झारेपछि किसानका खलामा पुगेर लेखाजोखा गर्छन्। सबै वडाबाट आवेदन संकलन गरी मूल्यांकनपछि सार्वजनिक कार्यक्रममार्फत किसानलाई सामूहिक सम्मान र पुरस्कार प्रदान गरिन्छ। यस नीतिपछि ५० मुरीभन्दा बढी धान उत्पादन गर्ने किसानको संख्या वर्षेनि बढ्दै गएको गाउँपालिकाले जनाएको छ। पाँचथरकै मिक्लाजुङ गाउँपालिकाले पनि २०७६ सालदेखि ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने परिवारलाई एक लाख रुपैयाँ पुरस्कार दिँदै आएको छ। कोभिड–१९ को महामारीका बेला सम्भावित खाद्यान्न संकट न्यूनीकरण गर्ने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम हाल पनि निरन्तर छ। यहाँ धानसँगै मकै र आलु उत्पादन गर्ने किसानलाई समेत पुरस्कार दिइन्छ।

इलामको रोङ गाउँपालिकाले भने कम क्षेत्रफलमा बढी उत्पादन गर्ने किसानलाई ‘गुरु किसान’ घोषणा गर्ने कार्यक्रम अघि सारेको छ। रोङ–१ बडारेका मनबहादुर राई १२ रोपनी जमिनमा १५ मन अलैंची उत्पादन गरी गुरु किसान बनेका छन्। पालिकाले पहिलो चरणमा १ सय २१ जनालाई गुरु किसानका रूपमा छनोट गरी तालिम, गोष्ठी र आधुनिक उपकरणमा सहयोग गरिरहेको छ।
बेनी नगरपालिकामा ११ वर्षपछि सुवासलाई आमाको नामबाट नागरिकता
खजुरा गाउँपालिकाले २८ ऐन–कानुन बनाएर सेवा प्रवाह प्रभावकारी बनायो
पालिकाकेन्द्रित विकास बहससँगै काठमाडौँ–१० मा चुनावी सरगर्मी
सरावल गाउँपालिकामा विद्यालयको जग्गाबाट माटो बिक्री, अध्यक्ष र बिचौलियाविरुद्ध मुद्दा
