थाहा नगरपालिकामा आलु रोपाइँको चटारो, किसान दिनभर खेतमै - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

थाहा नगरपालिकामा आलु रोपाइँको चटारो, किसान दिनभर खेतमै

बाग्मती, १३ माघ

    मकवानपुरको उत्तरी भेगमा रहेको थाहा नगरपालिकामा यतिबेला आलु रोपाइँ चरम अवस्थामा पुगेको छ। बिहानदेखि साँझसम्म किसानहरू मल हाल्ने, ड्याङ बनाउने र आलु रोप्ने काममा व्यस्त छन्। नगरपालिकाका अधिकांश बासिन्दा अहिले खेतबारीमै भेटिन्छन्। महिलाहरू डोकोमा गाईभैंसीको मल बोकेर खेततर्फ लागेका देखिन्छन् भने पुरुषहरू ड्याङ तयार पार्ने र आलु रोप्ने काममा खटिएका छन्। स्थानीय पूर्वशिक्षक सानोभाई कार्की भन्छन्, “अहिले यहाँ चुनावको खासै चर्चा छैन, सबैको ध्यान आलु रोपाइँमै केन्द्रित छ।”

3-(1)-1769493737.jpg
  थाहा नगरपालिकाका किसानले पछिल्लो समय रासायनिक मलभन्दा प्राङ्गारिक मललाई प्राथमिकता दिन थालेका छन्। रासायनिक मल प्रयोग गर्दा माटो कमजोर हुने र उत्पादन छिटो बिग्रने अनुभव भएपछि प्राङ्गारिक मलतर्फ आकर्षण बढेको किसानहरूको भनाइ छ। कृषि विकास अधिकृत सञ्जय तिवारीका अनुसार नगरपालिकाका १२ वटै वडामा आलु रोपाइँ तीव्र रूपमा भइरहेको छ। “अहिले किसानहरू यति व्यस्त छन् कि बोल्ने फुर्सदसमेत छैन,” उनले भने।

4-1769493732.jpg
   बिहान–बेलुका चिसो मौसम भए पनि किसानहरू निरन्तर खेतमा खटिएका छन्। वर्षौंदेखिको अनुभवका कारण यहाँका किसानले आलु खेतीमा राम्रो दक्षता हासिल गरेका छन्। ६० सेन्टिमिटरको फरकमा ड्याङ बनाएर २५ सेन्टिमिटरको दूरीमा आलु रोप्ने प्रचलन रहेको छ। रोग नियन्त्रण र विषादी प्रयोगबारे पनि आधारभूत ज्ञान किसानहरूमा विकास भइसकेको कृषि शाखाको भनाइ छ। थाहा नगरपालिकामा कार्डिनल, डेजुरे, खुमल रातो, जनकदेव, कुखुरे ज्योती र साजिटा जातका आलु रोपिँदै आएका छन्। आवश्यक बीउ आलु नगरपालिकाअन्तर्गतको दामन बागवानी फार्मबाट प्रतिकिलो ४० रुपैयाँमा उपलब्ध हुँदै आएको छ। कतिपय किसानले भने काठमाडौंका शीतभण्डारमा बीउ राखेर अहिले ल्याई रोप्ने गरेका छन्।

1-1769493741.jpg
    स्थानीयस्तरमा शीतभण्डार नहुँदा किसानलाई बीउ र उत्पादन सुरक्षित राख्न समस्या हुँदै आएको छ। प्रदेश सरकार, थाहा नगरपालिका र स्थानीय सहकारीको संयुक्त लगानीमा थाहा–३ घर्तीखोलामा शीतभण्डार निर्माणाधीन रहेको छ। मेयर विष्णुबहादुर विष्टका अनुसार शीतभण्डार छिट्टै सञ्चालनमा आउनेछ। माघको पहिलो सातादेखि सुरु हुने आलु रोपाइँ फागुनको पहिलो सातासम्म सकिने गर्दछ। वैशाखको अन्त्यतिर आलु खन्ने काम सुरु हुन्छ। थाहा नगरपालिकामा करिब ६ हजार ३ सय रोपनी क्षेत्रफलमा आलु खेती हुने गरेको छ। गत वर्ष यहाँ झण्डै ७ हजार टन आलु उत्पादन भएको थियो। राम्रो उत्पादनसँगै मूल्य पनि उत्साहजनक पाउँदा किसानहरू सन्तुष्ट देखिएका छन्।

1-1769493741.jpg
   दामन, पालुङ, बज्रवराही, चित्लाङ, टिष्टुङ र आग्राका किसानले प्रायः जेठको पहिलो सातादेखि आलु खन्न सुरु गर्छन्। प्रतिरोपनी औसत १५ क्विन्टल उत्पादन हुने कृषि शाखाको अनुमान छ। यद्यपि, श्रमिकको अभाव र भण्डारण सुविधाको कमीले किसानलाई आलु रोप्ने र खन्ने समयमा चुनौती थपिँदै गएको छ। कृषि शाखाका अनुसार थाहा नगरपालिकाबाट वार्षिक ५० करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको आलु निर्यात हुने गर्दछ। यहाँ उत्पादन हुने बेमौसमी आलु काठमाडौं, पोखरा, हेटौंडा, बुटवल, भरतपुरलगायत सहर हुँदै भारतसम्म पुग्ने गरेको छ। नगरपालिकाले आलुबाट मात्रै वार्षिक ५७ देखि ६० लाख रुपैयाँसम्म राजस्व संकलन गर्दै आएको छ।

3-1769493745.jpg
      यस क्षेत्रमा ५१ वर्षदेखि आलुलगायत तरकारीमा स्थानीय कर लगाइँदै आएको छ। २०३१ सालमा रुपचन्द्र विष्टले दामन र पालुङ क्षेत्रमा आलु करको सुरुवात गरेका थिए। त्यही करबाट संकलित रकम शिक्षा र भौतिक पूर्वाधार विकासमा खर्च हुँदै आएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार