काठमाडौँ महानगरपालिकाले सिपलाई आयसँग जोड्ने नीति अघि बढाउँदै - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

काठमाडौँ महानगरपालिकाले सिपलाई आयसँग जोड्ने नीति अघि बढाउँदै

काठमाडौँ, माघ १४

     काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आर्थिक आत्मनिर्भरता हासिल नगरेसम्म सशक्तीकरणका नाराहरू व्यवहारमा कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ। नागरिकको सिप र क्षमतालाई आय आर्जनसँग जोड्न सके मात्र मुलुकको अर्थतन्त्र सुदृढ बन्ने उहाँको धारणा छ।

4-1769592788.jpg
   बुधबार आयोजित ‘काठमाडौँ बिजनेस एक्स्पो–२०८२’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले तालिमलाई केवल तालिममै सीमित राख्नुको सट्टा उत्पादन, रोजगारी र व्यक्तिको आम्दानीसँग प्रत्यक्ष रूपमा जोडिनुपर्ने आवश्यकता औँल्याउनुभयो। सबै नागरिकलाई आर्थिक रूपमा सक्षम बनाउने लक्ष्यसहित यस्ता व्यवसायिक मेला तथा महोत्सव निरन्तर आयोजना गर्नुपर्ने उहाँले बताउनुभयो। “जबसम्म हामी आर्थिक रूपमा आत्मनिर्भर हुँदैनौँ, तबसम्म सशक्तीकरणका कुरा व्यवहारमा लागू हुँदैनन्,” उहाँले भन्नुभयो, “नागरिकसँग भएका सिपलाई आयसँग जोड्न यस्ता मेला अत्यन्तै महत्वपूर्ण छन्। हामी विभिन्न ठाउँमा तालिम त दिन्छौँ, तर ती तालिम उत्पादन र आम्दानीसँग नजोडिएसम्म प्रभावकारी हुँदैनन्।”

2-1769592789.jpg
  सिपमा आधारित उत्पादनमार्फत नागरिकको आयस्तर वृद्धि गर्दै समग्र राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउनु महानगरपालिकाको प्रमुख उद्देश्य रहेको उहाँले स्पष्ट पार्नुभयो। यसका लागि उद्योग वाणिज्य सङ्घ काठमाडौँसँग सहकार्य गरी एक्स्पो आयोजना गरिएको जानकारी पनि उहाँले दिनुभयो। करिब २०० भन्दा बढी अत्याधुनिक तथा व्यवस्थित व्यवसायिक स्टलहरूको सहभागिता रहने एक्स्पोमा स्थानीय उत्पादन तथा सेवाको प्रदर्शनी, रैथाने खानाको प्रतियोगिता, फुड फेस्ट, कन्सर्ट, लाइभ म्युजिक, कला र संस्कृतिका विविध प्रस्तुति, विषयगत झाँकी, पर्यटन प्रवर्धन कार्यक्रम, फोटोग्राफी स्पट, स्वास्थ्य शिविरलगायतका आकर्षक गतिविधिहरू समावेश गरिने आयोजकले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार