पौवादुङमा गाउँपालिकाको पहलमा बहुवर्षीय खेतीतर्फ किसान आकर्षित
भोजपुर, माघ १५
भोजपुरको पौवादुङमा गाउँपालिकामा किसानहरू बहुवर्षीय खेती प्रणालीतर्फ क्रमशः आकर्षित हुन थालेका छन् । दीर्घकालीन आम्दानी वृद्धि र किसानको जीवनस्तर उकास्ने उद्देश्यले गाउँपालिकाले बहुवर्षीय खेती प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरेपछि यसप्रति किसानको चासो बढेको हो । गाउँपालिकाले बहुवर्षीय खेतीलाई प्राथमिकतामा राख्दै ‘एक घर एक फलफूल बगैँचा’ कार्यक्रम अघि बढाएको छ । यस कार्यक्रममार्फत किसानलाई फलफूल खेतीमा आबद्ध गराउँदै दिगो र व्यावसायिक कृषि प्रणाली विकासमा जोड दिइँदै आएको छ ।

गाउँपालिका अध्यक्ष किरण राईका अनुसार एकपटक बगैँचा विस्तार गरेपछि सामान्य हेरचाहमै वर्षौँसम्म निरन्तर आम्दानी लिन सकिने भएकाले बहुवर्षीय खेती प्रभावकारी बन्दै गएको छ । उहाँले किसानको आवश्यकता र मागका आधारमा विभिन्न बहुवर्षीय बालीका लागि सहयोग उपलब्ध गराइँदै आएको जानकारी दिनुभयो । “हामीले बहुवर्षीय खेती प्रणालीलाई प्राथमिकतामा राखेका छौँ । ‘एक घर एक फलफूल बगैँचा’ कार्यक्रममार्फत किसानलाई फलफूल खेतीतर्फ जोडिरहेका छौँ,” अध्यक्ष राईले भन्नुभयो, “बगैँचा विस्तारका लागि बिरुवा वितरण गर्ने गरिएको छ । यसअघि सञ्चालन गरिएको अकबरे खुर्सानी खेती कार्यक्रम सफल भएपछि व्यावसायिक फलफूल खेतीलाई अझ विस्तार गरिएको हो ।”

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बहुवर्षीय खेती प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो । उहाँका अनुसार यस वर्ष आवेदन आह्वान गरी ‘एक घर एक फलफूल बगैँचा’ कार्यक्रम सञ्चालनको तयारी भइरहेको छ । सो कार्यक्रम छवटै वडामा कार्यान्वयन गर्न करिब ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । “विस्तृत कार्ययोजना बनाएर फलफूल खेती विस्तार गर्ने तयारीमा छौँ,” उहाँले भन्नुभयो, “कार्यक्रमको मूल नारा ‘रोप्ने, हुर्काउने’ रहेको छ । प्राविधिकहरूले बिरुवा रोपाइँदेखि मल व्यवस्थापन, हेरचाह तथा रोग–किराबाट जोगाउने उपायबारे किसानलाई स्थलगत सेवा प्रदान गर्नेछन् ।”
-1769701685.jpg)
गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार बहुवर्षीय बालीका रूपमा आँप, लिची, किबी, एभोकाडो, सुन्तलालगायतका फलफूल खेतीमा किसानलाई जोड दिइएको छ । फलफूल खेतीमार्फत किसानको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित योजनाबद्ध रूपमा कृषि कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो । स्थानीय किसान नवराज घिमिरेले गाउँपालिकाको यस पहलले किसानको आम्दानी वृद्धि हुनुका साथै व्यावसायिक र दिगो कृषि प्रणाली विकासमा टेवा पुगेको बताउनुभयो । बहुवर्षीय बाली खेतीप्रति किसानको आकर्षण बढ्दो रहेको र गाउँपालिकाका कार्यक्रमले किसानलाई थप प्रोत्साहन गरिरहेको उहाँको भनाइ छ ।
बेनी नगरपालिकामा ११ वर्षपछि सुवासलाई आमाको नामबाट नागरिकता
खजुरा गाउँपालिकाले २८ ऐन–कानुन बनाएर सेवा प्रवाह प्रभावकारी बनायो
पालिकाकेन्द्रित विकास बहससँगै काठमाडौँ–१० मा चुनावी सरगर्मी
सरावल गाउँपालिकामा विद्यालयको जग्गाबाट माटो बिक्री, अध्यक्ष र बिचौलियाविरुद्ध मुद्दा
