मर्स्याङ्दी गाउँपालिकाको निःशुल्क आँखा शिविरबाट १३५ जनाले पाए शल्यक्रिया सेवा
लमजुङ, माघ १५
लमजुङको मर्स्याङ्दी गाउँपालिका–स्थित भुलभुलेमा सञ्चालन गरिएको तीनदिने निःशुल्क आँखा जाँच तथा मोतिबिन्दु शल्यक्रिया शिविरमा १३५ जनाले सफलतापूर्वक शल्यक्रिया सेवा पाएका छन् । गाउँपालिकाका अनुसार शिविर अवधिभर ४२९ पुरुष र ६८६ महिला गरी कुल १ हजार १ सय १५ जनाको आँखा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा ५३ पुरुष र ८२ महिलामा मोतिबिन्दु देखिएपछि शल्यक्रिया गरिएको हो ।
शिविरमार्फत ६ सय ६१ जनालाई निःशुल्क औषधि वितरण गरिएको छ भने ५६ जनालाई नजिक हेर्ने चश्मा उपलब्ध गराइएको छ । शल्यक्रिया गरिएका सबै बिरामीलाई आँखाको सुरक्षाका लागि कालो चश्मा समेत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । तीन दिनसम्म सञ्चालन भएको शिविरमा पहिलो दिन सोमबार ४० जना, दोस्रो दिन मंगलबार ६५ जना र तेस्रो दिन बुधबार ३० जनाको मोतिबिन्दु शल्यक्रिया गरिएको थियो । बुधबार शल्यक्रिया गरिएका बिरामीहरूको आँखामा लगाइएका पट्टी बिहीबार बिहान खोलिएको थियो ।
गाउँपालिकाले नेपाल नेत्रहीन संघ, लमजुङ ९समावेशी विकासका लागि कार्य० तथा नेपाल नेत्रज्योति संघअन्तर्गत भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरेको हो । भरतपुर आँखा अस्पतालकी निर्देशक तथा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा। पुष्पा गिरी श्रेष्ठको नेतृत्वमा आएको चिकित्सक टोलीले शल्यक्रिया सेवा प्रदान गरेको थियो । शिविरमा नेपाल नेत्रहीन संघका पुनर्स्थापन अधिकृत प्रेम महर्जन, लमजुङ नेत्रहीन संघका सदस्य गोपाल लामिछाने तथा भरतपुर आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक रमेश घिमिरेलगायतले सहयोग गरेका थिए ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले आर्थिक रूपमा कमजोर तथा काठमाडौँ, पोखरा वा चितवन पुगेर उपचार गर्न नसक्ने नागरिकले आफ्नै घरआँगनमै सेवा पाएको बताए । “दृष्टि गुमाउने अवस्थामा पुगेका नागरिकलाई समयमै उपचार उपलब्ध गराउन पाउँदा गाउँपालिका र नागरिक दुवै खुसी छन्,” उनले भने ।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
