अमरगढी नगरपालिकामा बाँदरको क्षति न्यूनीकरणका लागि हिउँदे फलफूल कलमी कार्यक्रम
डडेल्धुरा, माघ १५
डडेल्धुराको अमरगढी नगरपालिका–२ मा हिउँदे फलफूल बोटबिरुवा कलमी कार्यक्रम सञ्चालन गरिएको छ । कृषि ज्ञान केन्द्र डडेल्धुराको आयोजनामा गरिएको यस कार्यक्रमले जंगली क्षेत्रको प्रभावकारी सदुपयोग गर्दै फलफूल उत्पादन बढाउने र बाँदरका कारण किसानले भोग्दै आएको क्षति न्यूनीकरण गर्ने लक्ष्य लिएको छ । कार्यक्रमअन्तर्गत जंगलमा प्राकृतिक रूपमा हुर्किएका ‘मेल’ जातका बोटमा नास्पातीका कलमी लगाइएको छ । कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुका अनुसार जंगली बोटमा फलफूल कलमी गर्दा दोहोरो फाइदा हुने अपेक्षा गरिएको छ ।

“एकातिर स्थानीयवासीले नास्पाती जस्ता फलफूल सहजै उपभोग गर्न पाउँछन् भने अर्कोतिर बाँदरका लागि जंगलमै पर्याप्त खानेकुरा उपलब्ध हुन्छ,” उनले भने, “जंगलमै फलफूल पाइएपछि बाँदर खेतबारीमा पस्ने क्रम घट्ने र मकै, आलु, तरकारीलगायत बालीमा हुने क्षति उल्लेखनीय रूपमा कम हुने विश्वास छ।” डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा पछिल्ला वर्षहरूमा बाँदरको समस्या झन् जटिल बन्दै गएको छ । बस्ती नजिकका खेतबारीमा बाँदर पसेर केही समयमै किसानको मेहनत नष्ट गर्ने गरेको छ । बारम्बार हुने क्षतिका कारण कतिपय किसानले खेती नै छाड्न थालेको अवस्था छ ।

यस्तो समस्याको दीर्घकालीन समाधानका लागि जंगली क्षेत्रमा फलफूलका बोटबिरुवा विस्तार गर्नु उपयुक्त उपाय हुन सक्ने कृषि ज्ञान केन्द्रको ठहर छ । केन्द्रले आगामी दिनमा जिल्लाका विभिन्न स्थानमा हिउँदे फलफूल कलमी कार्यक्रमलाई चरणबद्ध रूपमा विस्तार गर्दै लैजाने जनाएको छ ।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
