फाल्गुनन्द गाउँपालिकाबाट अमर नेम्वाङ स्मृति साहित्य पुरस्कार वितरण हुने
फिदिम, माघ १९
लेखक–साहित्यकार तथा पाँचथरको फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष स्वर्गीय अमर नेम्वाङको स्मृतिमा स्थापना गरिएको ‘अमर नेम्वाङ स्मृति साहित्य पुरस्कार’ यस वर्ष तीन जना स्रष्टालाई प्रदान गरिने भएको छ। अमर नेम्वाङ स्मृति प्रतिष्ठानअन्तर्गतको पुरस्कार छनोट समितिको बैठकले निबन्धकार तथा पत्रकार दीपक सापकोटा, कवि देवेन्द्र सोक्तेन र लिम्बू याक्थुङ भाषाकी साहित्यकार मलिसा याक्थुम्बालाई पुरस्कृत गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्वाङले जानकारी दिनुभयो।

उहाँका अनुसार यस वर्ष वितरण हुन लागेको पुरस्कार सातौँ संस्करण हो। प्रत्येक स्रष्टालाई जनही ५० हजार रुपैयाँ नगद तथा कदरपत्र प्रदान गरिनेछ। पुरस्कृत दीपक सापकोटा कान्तिपुर दैनिकको शनिबारीय परिशिष्ट ‘कोशेली’का संयोजक हुनुहुन्छ। यस्तै, कवि देवेन्द्र सोक्तेन र साहित्यकार मलिसा याक्थुम्बा मोफसलमा रहेर कविता तथा साहित्य सिर्जनामा निरन्तर सक्रिय रहँदै आउनुभएको छ। यसअघि उक्त पुरस्कार कृष्ण धरावासी, स्वप्निल स्मृति, श्रवण मुकारुङ, प्रेम ओझा, शारदा सुब्बा, बिना थिङ, डा। गोविन्दराज भट्टराई, वीर नेम्वाङ, देवी क्षेत्री दुलाल, मुनाराज शेर्मा, बिमला तुम्खेवा र गिरीराज बास्कोटालाई प्रदान गरिसकिएको छ।

स्वर्गीय अमर नेम्वाङको २०७५ सालमा फाल्गुनन्द गाउँपालिकाको अध्यक्षका रूपमा कार्यरत रहँदा हृदयघातका कारण निधन भएको थियो। प्रतिष्ठानले हरेक वर्ष पुरस्कार वितरणसँगै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने र विपद् प्रभावितलाई सहयोग गर्दै आएको जनाएको छ।
बेनी नगरपालिकामा ११ वर्षपछि सुवासलाई आमाको नामबाट नागरिकता
खजुरा गाउँपालिकाले २८ ऐन–कानुन बनाएर सेवा प्रवाह प्रभावकारी बनायो
पालिकाकेन्द्रित विकास बहससँगै काठमाडौँ–१० मा चुनावी सरगर्मी
सरावल गाउँपालिकामा विद्यालयको जग्गाबाट माटो बिक्री, अध्यक्ष र बिचौलियाविरुद्ध मुद्दा
