धनकुटाका पालिकामा उम्मेदवारको दौडधुप, चुनावी रणनीति र भेटघाट तीव्र - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

धनकुटाका पालिकामा उम्मेदवारको दौडधुप, चुनावी रणनीति र भेटघाट तीव्र

धनकुटा,माघ १९ 

    प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा धनकुटा जिल्लामा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। जाडो यथावत रहे पनि जिल्लामा राजनीतिक तापक्रम भने बढ्दो देखिन्छ। एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा उम्मेदवारहरू यतिबेला चुनावी रणनीति निर्माण र कार्यकर्ता तथा मतदाता भेटघाटमा सक्रिय छन्।

Capture-1770111556.PNG
    जिल्लामा विभिन्न दल र स्वतन्त्र गरी १७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। तीन नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा उम्मेदवारहरू पहिलो चरणको प्रचार अभियानअन्तर्गत गाउँ–नगरमा पुगेर मतदाताका अपेक्षा बुझ्ने प्रयासमा जुटेका छन्। नेकपा एमालेले जिल्लाका सबै पालिकामा पहिलो चरणका पार्टी बैठक तथा चुनावी रणनीतिक कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ। एमालेबाट उम्मेदवार बनेका राजेन्द्रकुमार राई चौथो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन्। यसअघि दुई पटक सांसद निर्वाचित भइसकेका राई यसपटक ह्याट्रिक जितको लक्ष्यसहित मैदानमा उत्रिएका छन्। उनी आइतबार चौबिसे गाउँपालिका–७ राजारानीमा पार्टी नेता–कार्यकर्तासँग छलफल तथा भेटघाटमा व्यस्त देखिएका थिए।

b685dbf7-90b8-4477-ba59-c22ab83e37ad-(1)-1770111571.png
   नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका दिनेश राई पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन्। पार्टी जिल्ला सभापतिसमेत रहेका उनी स्थापित युवा नेताका रूपमा परिचित छन्। यसअघि स्थानीय तह निर्वाचनमा धनकुटा नगरपालिकाको प्रमुख पदका लागि दुई पटक उम्मेदवार बनेर झिनो मतान्तरले पराजित भएका राई यसपटक त्यसको क्षतिपूर्ति गर्ने रणनीतिमा रहेको बताउँछन्। उनले सबै पालिकामा पुगेर ग्रासरुट तहका कार्यकर्तासँग भेटघाट गरिसकेको जानकारी दिए।  नेकपा (कम्युनिस्ट पार्टी)  का उम्मेदवार धर्मराज पौडेलले पनि चार पालिकामा पहिलो चरणको चुनावी अभियान सम्पन्न गरिसकेको बताएका छन्। छथर जोरपाटी, सहिदभूमि गाउँपालिका, पाख्रीबास र महालक्ष्मी नगरपालिकामा अभियान सकिएको र बाँकी पालिकामा क्रमशः कार्यक्रम अघि बढाइने उनले बताए। ०४९ सालमा तत्कालीन जिल्ला विकास समिति सभापति भइसकेका पौडेल ०६४ सालको संविधानसभा निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका थिए। उनी यसपटक पुरानो राजनीतिक साख फर्काउने लक्ष्यसहित मैदानमा छन्।

b685dbf7-90b8-4477-ba59-c22ab83e37ad-1770111570.png
   यस निर्वाचनमा पुस्तान्तरणको नारा अघि सार्दै धेरै युवा उम्मेदवारहरू प्रतिस्पर्धामा उत्रिएका छन्। तीमध्ये सबैभन्दा कम उमेरका उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका ३० वर्षीय विभत्सु थापा हुन्। उनले आफू पुस्तान्तरणको प्रतिनिधि पात्र भएको दाबी गर्दै सबै पालिकामा पुगेर मतदाताको धारणा संकलन गरिसकेको बताएका छन्। पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका पनाति रहेका थापा नयाँ पुस्ताले यसपटक नेतृत्व लिने विश्वास व्यक्त गर्छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश भण्डारीले पनि आफू युवा प्रतिनिधिका रूपमा चुनावी मैदानमा रहेको बताउँदै पहिलो चरणको प्रचार अभियानमा सक्रिय रहेको जानकारी दिए। यस्तै, स्वतन्त्र उम्मेदवार तथा सामाजिक अभियन्ता लाक्पा तामाङ गाउँ केन्द्रित अभियानमा जुटिरहेका छन्।

2-1770111555.jpg
      यसका साथै श्रम संस्कृतिका सानबहादुर राई, नेपाल मजदुर किसान पार्टीका उत्तम साखकर्मी, आम जनताका प्रेमबहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका बालकुमार ताम्ली, जनता समाजवादी पार्टीका निशान राई, नेकपा माओवादीका रविनकुमार राई, जनता समाजवादीका आइतराम लिम्बु, राष्ट्रिय परिवर्तन पार्टीका शालिकराम राई, मंगोल नेसनल अर्गनाइजेसनका सागर राई तथा स्वतन्त्र उम्मेदवार मनकुमार योञ्जन र जीतेन्द्र राई पनि चुनावी गतिविधिमा सक्रिय देखिएका छन्।ujjjjjjjjjjjjjjjjjju

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार