मुक्तिक्षेत्र गाउँपालिकामा साङ्ता गाउँको मतदान स्थल स्थानान्तरणको सिफारिस
मुस्ताङ, माघ २१
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ अन्तर्गत साङ्ता गाउँको मतदान केन्द्र स्थानान्तरण गर्ने प्रस्ताव गरिएको छ। अत्यधिक हिमपातका कारण गाउँ पूरै खाली भएपछि मतदान सहज नहुने देखिएकाले वडा कार्यालयले मतदान केन्द्र छिमेकी गाउँ फल्याकमा सार्न सिफारिस गरेको हो।

समुद्री सतहदेखि करिब ३ हजार ८ सय मिटर उचाइमा रहेको साङ्ता गाउँमा जाडोयाममा बस्न कठिन हुने भएकाले अधिकांश स्थानीय मङ्सिर महिनादेखि नै तल्लो भेग तथा सहरतर्फ सर्ने गरेका छन्। हाल साङ्ता गाउँस्थित हिमाली आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा ३९ जना मतदाता रहे पनि उनीहरू चैत्र–वैशाखपछि मात्र गाउँ फर्किने भएकाले तोकिएको मितिमा मतदान सम्भावना न्यून देखिएको वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिनुभयो।

वडाध्यक्ष गुरुङका अनुसार हाल गाउँमा केवल ६ जना गोठालाहरू मात्र रहेका छन्, जो पशुचौपायाको हेरचाहमा संलग्न छन्। ‘‘गाउँ नै खाली छ, मतदान स्थलसम्म पुग्न कठिन छ,’’ उहाँले भन्नुभयो, ‘‘मतदाता जहाँ छन्, त्यहीँ नजिक मतदान केन्द्र भए सहज हुन्छ।’’स्थानीय छेवाङ गुरुङले पनि जाडोयाममा गाउँ बस्न असहज हुने भएकाले परिवारसहित काठमाडौँ गएको र वैशाखपछि मात्र फर्किने बताउनुभयो। कतिपय स्थानीय अन्नबाली भण्डारण गरी भेडा–च्याङ्ग्रासहित फल्याक, धाकारजुङ लगायत स्थानमा बसोबास गरिरहेको जनाइएको छ।

हाल फल्याक गाउँमा रहेको एक मतदान केन्द्रमा ३ सय ३७ मतदाता छन्। प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार मतदान स्थल स्थानान्तरणसम्बन्धी प्रस्ताव प्राप्त भए पनि हालसम्म निर्णय भइसकेको छैन। उहाँले सर्वदलीय छलफलपछि मतदातालाई सहज हुने गरी निर्णय गरिने बताउनुभयो।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
