देवघाट गाउँपालिकाको पहलमा भर्जन कालिका मन्दिर धार्मिक–पर्यटकीय केन्द्र बन्दै
तनहुँ, चैत ६
तनहुँको देवघाट गाउँपालिका–५ पिपलटारमा अवस्थित भर्जन कालिका मन्दिर धार्मिकसँगै पर्यटकीय आकर्षणको रूपमा विकसित हुँदै गएको छ। प्राकृतिक मुहानसँग जोडिएको यस मन्दिरलाई व्यवस्थित र आकर्षक बनाउन दीर्घकालीन गुरुयोजना अघि बढाइएको छ। मन्दिर संरक्षण समितिका अध्यक्ष केशवचन्द्र न्यौपानेका अनुसार आधुनिक शैलीमा मुख्य मन्दिर निर्माण सम्पन्न भइसकेको छ। गुरुयोजना अनुसार बाँकी संरचना निर्माण गर्न अझ करिब तीन करोड ७६ लाख रुपैयाँ आवश्यक पर्ने बताइएको छ। आवश्यक स्रोत जुटाउन तथा मन्दिरको प्रचार–प्रसारका लागि आगामी वैशाख ५ देखि १३ गतेसम्म ‘विराट ज्ञान महायज्ञ एवं देवीभागवत’ आयोजना गरिने तयारी गरिएको छ।

उनका अनुसार अब धर्मशाला, सचिवालय भवन, अमृत जलकुण्ड तथा ‘मणिदीप’ क्षेत्र निर्माण गरी मन्दिरलाई वर्षभरि दर्शनार्थी आउने धार्मिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ। देवघाट क्षेत्रकै दोस्रो पुरानो मन्दिरका रूपमा चिनिने यस स्थललाई धार्मिक पर्यटन हब बनाउने योजना रहेको समितिले जनाएको छ।

वि.सं. २००६ सालमा स्थापना भएको मन्दिरसँग रोचक इतिहास जोडिएको छ। खानेपानीको समस्या समाधानका लागि गरिएका पूजापाठपछि उक्त स्थानमा पानीको मुहान फुटेको र त्यसै ठाउँमा मन्दिर स्थापना गरिएको स्थानीय बासिन्दाले स्मरण गरेका छन्। हाल मन्दिर पुनर्निर्माण तथा विकासमा स्थानीय सामुदायिक वन, टोल विकास संस्था र दानदाताहरूको सक्रिय सहयोग रहेको छ। करिब ५० लाख रुपैयाँको लागतमा मन्दिरको पुनर्निर्माण सम्पन्न भइसकेको समितिले जनाएको छ।

महायज्ञको तयारीस्वरूप चैत ६ देखि १९ गतेसम्म विशेष नवरात्र मेला तथा पूजाआजा सञ्चालन भइरहेको छ। गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले मन्दिरको धार्मिक तथा पर्यटकीय सम्भावनालाई मध्यनजर गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
