लोमान्थाङ गाउँपालिकाको भन्सारबाट ७ महिनामै १२ अर्बभन्दा बढीको कारोबार
मुस्ताङ, चैत ८
लोमान्थाङ गाउँपालिका–४ नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले सञ्चालनको छोटो अवधिमै उल्लेखनीय व्यापारिक प्रगति गरेको छ। चालु आर्थिक वर्ष २०८२/०८३ को भदौ ३० देखि व्यवसायिक रूपमा सञ्चालनमा आएको उक्त भन्सारबाट ७ महिनाको अवधिमा १२ अर्ब १६ करोड ९८ लाख रुपैयाँ बराबरका वस्तु आयात भएका छन्।

सोही अवधिमा २० करोड ३० लाख ३९ हजार रुपैयाँ बराबरको निर्यात भएको छ भने कुल ५ अर्ब ७१ करोड ९ लाख रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ। चीनको तिब्बत स्वायत्त क्षेत्र अन्तर्गत पर्ने झोङवासेन क्षेत्रबाट कोरला नाका हुँदै विद्युतीय सवारी साधनसहित विभिन्न सामान आयात भइरहेका छन्। हालसम्म सो नाकाबाट २३ सय ४७ वटा विद्युतीय सवारी नेपाल भित्रिएको तथ्यांक छ।

भन्सारका सूचना अधिकारी अबिन्द्र सिंहका अनुसार अत्यधिक चिसो मौसम र चिनियाँ पर्व ल्होसारका कारण केही समय आयात–निर्यात प्रभावित भए पनि अब अवस्था सुधारोन्मुख छ। आयातित वस्तुहरूमा विद्युतीय सवारी, घरायसी सामग्री, कस्मेटिक्स, विद्युतीय उपकरण, कपडा तथा जुत्ता प्रमुख छन् भने नेपालबाट हस्तकला र कपडा निर्यात हुँदै आएको छ। रसुवा नाका र तातोपानी नाका सञ्चालनमा आएपछि कोरला नाकाबाट आउने चिनियाँ सवारीको संख्या केही घटेको छ। यद्यपि जाडो कम भएसँगै व्यापार गतिविधि बढ्ने अपेक्षा गरिएको छ।

कोरला नाकाबाट करिब १४ किलोमिटर तल रहेको भन्सारमा सामान जाँचपास गरी १८६ किलोमिटर लामो कोरला–जोमसोम–बेनी सडकमार्ग हुँदै पोखरा पठाइन्छ।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
