रामग्राम नगरपालिकाको बेवास्ता: परासी बसपार्क चार वर्षदेखि सञ्चालनविहीन
पश्चिम नवलपरासी, चैत १०
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा सरकारी लगानीमा निर्माण गरिएको आधुनिक बसपार्क चार वर्षदेखि प्रयोगमा आउन सकेको छैन। संरचना निर्माण सम्पन्न भए पनि बसपार्कसम्म सहज पहुँच हुने सडक नहुँदा सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको छ।

करिब चार करोड रुपैयाँ लागतमा बनेको उक्त बसपार्कमा टर्मिनल भवन र व्यापारिक सटरहरू तयार छन्। तर आवश्यक पूर्वाधारको अभावका कारण अहिले यो क्षेत्र झाडीले ढाकिँदै गएको छ। बसपार्क सञ्चालनमा नआउँदा सवारी साधनहरू अझै पनि मुख्य सडकमै रोकिने गरेका छन्, जसले ट्राफिक जाम बढाउनुका साथै दुर्घटनाको जोखिम पनि बढाएको छ। नेपाल यातायात व्यवसायी समितिका अध्यक्ष रिषीराम पौडेलका अनुसार बसपार्कको स्थान छनोट र पहुँच मार्गमा प्राविधिक कमजोरी देखिएको छ। उहाँका अनुसार हालको सडक साँघुरो र अपायक भएकाले ठूला सवारी साधनहरू सहज रूपमा भित्रिन सक्दैनन्।

स्थानीयवासी र नागरिक समाजले छिटो समाधान खोज्दै बसपार्क सञ्चालनमा ल्याउन माग गरेका छन्। नागरिक समाजका पूर्व अध्यक्ष राधेश्याम सिंह सैथवारले सार्वजनिक सम्पत्तिको उचित उपयोग हुन नसक्नु सम्बन्धित निकायको कमजोरी भएको टिप्पणी गरेका छन्। उहाँले बसपार्क सञ्चालन नहुँदा एकातिर राज्यको लगानी खेर गएको र अर्कोतर्फ सर्वसाधारणले जाम तथा धुलोको समस्या झेल्नुपरेको बताए।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
