बैजनाथ गाउँपालिकाद्वारा बरघर–चौकीदारलाई साइकल, संस्कृति संरक्षणमा जोड
नेपालगन्ज, चैत १७
बाँकेको बैजनाथ गाउँपालिकाले थारू समुदायको परम्परागत संरचना सुदृढ गर्न बरघर र चौकीदारलाई साइकल वितरण गरेको छ। थारू समुदायको उल्लेख्य बसोबास रहेको यस क्षेत्रमा स्थानीय संस्कृति संरक्षणसँगै सामाजिक व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्तो पहल गरिएको हो।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत वडा नम्बर १ देखि ८ सम्मका ३६ टोलका बरघर र चौकीदारलाई ३६ थान साइकल वितरण गरेको गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले जानकारी दिनुभयो। उहाँका अनुसार गाउँ–समाजमा विवाद समाधान, मेलमिलाप कायम राख्ने र सामाजिक सद्भाव जोगाउने काममा सक्रिय बरघर तथा चौकीदारलाई आवतजावत सहज बनाउन साइकल प्रदान गरिएको हो। गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले स्थानीय संस्कृति संरक्षणसँगै समुदाय सशक्तीकरणमा गाउँपालिका प्रतिबद्ध रहेको बताउँदै यस्ता कार्यक्रमले परम्परागत संरचनालाई बलियो बनाउनुका साथै स्थानीय शासन प्रणालीलाई समेत मजबुत बनाउने उल्लेख गर्नुभयो।

थारू समुदायमा बरघर र चौकीदारले सामाजिक विवाद समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने परम्परा रहिआएको छ। प्रत्येक वर्ष माघी पर्वमा समुदायले उनीहरूको चयन गर्ने चलन छ। साइकल पाएपछि आफूहरूको काममा सहजता आएको बरघरहरूले बताएका छन्। बैजनाथ–२ का बरघर पल्टु थारुले अब विभिन्न ठाउँमा पुगेर समाजका लागि काम गर्न सहज भएको प्रतिक्रिया दिनुभयो।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
