रघुगङ्गा गाउँपालिकामा पहिरो नियन्त्रण तीव्र, बेनी–जोमसोम सडक सुरक्षित बनाउने अभियान सुरु - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

रघुगङ्गा गाउँपालिकामा पहिरो नियन्त्रण तीव्र, बेनी–जोमसोम सडक सुरक्षित बनाउने अभियान सुरु

म्याग्दी, १९ चैत 

    राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत पर्ने बेनी–जोमसोम सडकखण्डमा पहिरो रोकथाम तथा नियन्त्रणका कामहरू तीव्र रूपमा अगाडि बढाइएको छ। विशेषगरी म्याग्दी र मुस्ताङ क्षेत्रमा पर्ने जोखिमयुक्त स्थानहरूमा विभिन्न प्रविधिको प्रयोग गर्दै पहिरो नियन्त्रण अभियान सुरु गरिएको हो।

2-1775138032.jpg
    रघुगङ्गा गाउँपालिका–२ को चमेरे, सिरुवारी, गुइँठेभिर, खामभित्ता, लाटोखोला, रुप्से झरना तथा मुस्ताङतर्फका सेतोखोला र लार्जुङ क्षेत्रमा पहिरो नियन्त्रणका काम भइरहेका छन्। यसका लागि रक एन्करिङ, पर्खाल निर्माण, बायो–इन्जिनियरिङ, बेन्चिङ लगायत आधुनिक प्रविधि प्रयोगमा ल्याइएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। चालू आर्थिक वर्षमा मात्र यस कार्यका लागि २५ करोड रुपैयाँ खर्च गरिँदैछ।

4-1775138013.jpg
     ती स्थानहरूमध्ये सिरुवारी क्षेत्र सबैभन्दा जोखिमयुक्त मानिएको छ। यहाँ बेन्चिङ विधिबाट पहिरो नियन्त्रणको काम सुरु गरिएको छ, जसमा भिरालो जमिनलाई सिँढी आकारमा संरचना बनाएर स्थिर बनाइन्छ। यसले दीर्घकालीन रूपमा पहिरो नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

3-1775138012.jpg
     आयोजनाले जेठ महिनाभित्र पहिरो नियन्त्रणका मुख्य काम सक्ने लक्ष्य राखेको छ, ताकि बर्खायाममा सडक अवरुद्ध नहोस् र नियमित सवारी सञ्चालन गर्न सकियोस्। यद्यपि, सिरुवारी क्षेत्रमा स्थायी समाधानका लागि करिब ६० करोड रुपैयाँ आवश्यक पर्ने भए पनि हाल उपलब्ध स्रोतबाट अस्थायी उपाय अपनाइएको छ। उक्त क्षेत्रमा सडकभन्दा करिब एक किलोमिटर माथिसम्म जमिन अस्थिर भइसकेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार