बुटवल उपमहानगरपालिकाद्वारा मकै पकेट क्षेत्रका किसानलाई उपकरण, उत्पादन वृद्धि र बजारीकरणमा जोड
सिद्धार्थनगर, चैत १९
बुटवल उपमहानगरपालिकाले मकै पकेट क्षेत्रमा संलग्न किसानलाई कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले विभिन्न उपकरण वितरण गरेको छ। उपमहानगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत साझेदारीमा ज्याप प्लान्टर १० थान, तराजु ५ थान, मिल २ थान तथा बिल सिडरलगायतका सामग्री उपलब्ध गराइएको हो। वडा नम्बर १४ मोतीगञ्जमा आयोजित कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेयले मकै पकेट सञ्चालन समन्वय समितिलाई ती उपकरण हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले तिनाउ पश्चिम क्षेत्रका वडाहरूलाई कृषि उत्पादनमा आत्मनिर्भर र अग्रणी बनाउने लक्ष्यसहित योजनाबद्ध रूपमा काम भइरहेको बताउनुभयो। साथै, बुटवललाई मकै पोल्ने केन्द्रका रूपमा विकास गर्ने योजना रहेको उल्लेख गर्दै किसानलाई उत्पादनसँगै बजारसम्म सीधा पहुँच दिलाउने आवश्यकतामा जोड दिनुभयो।

“किसान आफैँले उत्पादन गरेको मकै बिक्री गर्न सके आम्दानीमा वृद्धि हुन्छ,” उहाँले भन्नुभयो, “यसका लागि उपमहानगरपालिकाले बजारीकरणका उपायहरू खोजिरहेको छ।” वडा नम्बर १४ का अध्यक्ष दधिराम न्यौपाने र वडा नम्बर १९ का अध्यक्ष चन्द सिंह थापाले यस्ता कार्यक्रमले कृषि क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

मोतीगञ्ज मकै पकेट सञ्चालन समन्वय समितिका अनुसार हाल ३५/५ बिघा जमिनमा व्यावसायिक मकै खेती भइरहेको छ। २०७९ सालमा सुरु भएको यस कार्यक्रम सुरुमा १६ कृषकमा सीमित भए पनि अहिले ५३ जना कृषक सहभागी भइसकेका छन्। गत वर्ष करिब एक करोड रुपैयाँ बराबरको मकै बिक्री भएकोमा यस वर्ष एक करोड ३० लाख रुपैयाँ बराबरको हरियो मकै बिक्री गर्ने लक्ष्य राखिएको छ।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
