चन्द्रपुर नगरपालिकामा बाँध पुनःनिर्माण नहुँदा सिँचाइ अभाव, किसान समस्यामा
रौतहट, चैत २०
रौतहटको चन्द्रपुर नगरपालिका–३ गैडाटारमा सिँचाइका लागि निर्माण गरिएको बाँध भत्किएको लामो समय बित्दा पनि पुनःनिर्माण नहुँदा स्थानीय किसान मारमा परेका छन्। गैडाटार सिँचाइ आयोजनाअन्तर्गत चादी खोलाबाट गाउँ–गाउँसम्म पक्की कुलो विस्तार गरिए पनि पानी संकलन गर्ने मुख्य संरचना ड्याम नै भत्किएपछि आयोजना प्रभावहीन बनेको छ। एक वर्षअघि आएको बाढीले ड्याम बगाएपछि हालसम्म पुनःनिर्माण नहुँदा सिँचाइ सेवा अवरुद्ध छ।

उर्वर भूमि मानिने गैडाटार क्षेत्रमा सिँचाइ अभावले कृषि उत्पादन घटेको किसानहरू बताउँछन्। समयमै पानी नपाउँदा धान, तरकारी लगायतका बालीनालीमा अपेक्षित उत्पादन लिन नसकिएको अगुवा कृषक सन्तोष चौहानको भनाइ छ। पछिल्ला वर्षहरूमा केरा खेतीतर्फ आकर्षण बढे पनि पर्याप्त सिँचाइ नहुँदा किसान चिन्तित छन्। केरा खेतीका लागि वर्षमा कम्तीमा दुई पटक पानी आवश्यक पर्ने भए पनि ड्याम भत्किँदा त्यो सम्भव नभएको केरा उत्पादक उपेन्द्र गोलेले गुनासो गर्नुभयो।

हाल किसानहरूले अस्थायी रूपमा ढुङ्गा, बालुवा, गिट्टी र माटो प्रयोग गरी बाँध बनाएर सिँचाइ गर्ने प्रयास गरिरहेका छन्। तर यस्तो संरचना सानो पानीको बहावले समेत बगाउने भएकाले बारम्बार मर्मत गर्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
