डुडुवा गाउँपालिकामा ट्रस ब्रिज निर्माण सुरु, स्थानीय आवत–जावतमा सहजता आउँने - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

डुडुवा गाउँपालिकामा ट्रस ब्रिज निर्माण सुरु, स्थानीय आवत–जावतमा सहजता आउँने

खजुरा, चैत २० 

      बाँकेको डुडुवा गाउँपालिकाले डुडुवा नालामा ट्रस ब्रिज निर्माण कार्य सुरु गरेको छ। गाउँपालिका–१, टेपरीस्थित उक्त नालामा निर्माण हुने पुलले स्थानीय बासिन्दाको आवत–जावतलाई सहज बनाउने अपेक्षा गरिएको छ।

3-1775214121.jpg
    एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले पुल निर्माणको शिलान्यास गर्नुभयो। उहाँले वर्षायाम, बाढी र डुबानका कारण नालापारि आवत–जावतमा समस्या भोगिरहेका स्थानीयलाई लक्षित गर्दै ट्रस ब्रिज निर्माण थालिएको जानकारी दिनुभयो। यसले दैनिक आवागमनमा ठूलो राहत पुग्ने विश्वास व्यक्त गरिएको छ। सीमित स्रोतसाधनका बीच तत्कालका लागि यो पुल निर्माण गरिए पनि भविष्यमा थप व्यवस्थित र ठुलो पुल निर्माणका लागि पहल गरिने अध्यक्ष चौधरीले बताउनुभयो।

4-1775214131.jpg
     करिब एक करोड ११ लाख रुपैयाँ लागतमा ५७ मिटर लामो ट्रस ब्रिज निर्माणको जिम्मा लुम्बिनी इन्जिनियरिङ बक्स प्रालिले लिएको छ। गाउँपालिकाका इन्जिनियर सुरेन्द्र बर्माका अनुसार निर्माण कम्पनीले दुई महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ।  निर्माण सम्पन्न भएपछि डुडुवा नालापारिका चौफेरी, कृषि चौफेरी, छिटाइपुर्वा, पाझा, टेपरी, पिप्रहवा लगायत गाउँका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्नेछ। साथै, बाढी प्रभावित तथा पूर्वाधार विकासमा पछाडि परेको यस क्षेत्रको समग्र विकासमा पुलले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार