लोघेकर दामोदरकुण्ड गाउँपालिकाद्वारा ढाकमर क्षेत्रको पर्यटन प्रवर्द्धनमा सक्रिय पहल - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

लोघेकर दामोदरकुण्ड गाउँपालिकाद्वारा ढाकमर क्षेत्रको पर्यटन प्रवर्द्धनमा सक्रिय पहल

मुस्ताङ, चैत २२ 

     ढाकमर क्षेत्रका अनौठा राताम्मे पहाड र प्राचीन गुफाहरू अहिले पनि पर्यटकको पर्खाइमा छन्। लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ मा अवस्थित यो स्थान समुद्री सतहबाट करिब ३,८२० मिटर उचाइमा पर्छ, जहाँ प्रकृतिले आफैं बनाएका जस्ता देखिने रातो, खस्रा र कलात्मक चट्टानहरू पर्यटकलाई आकर्षित गर्ने प्रमुख आधार बनेका छन्।

4-1775390974.jpg
    उपल्लो मुस्ताङ हुँदै लोमान्थाङ र तिब्बत सीमाको कोरला नाका सम्म जाने यात्रुका लागि ढाकमर एक महत्वपूर्ण विश्राम र अवलोकन स्थलको रूपमा विकास हुँदै गएको छ। यहाँको प्राकृतिक दृश्यसँगै वरपर रहेका प्राचीन गुफाहरूले पर्यटकलाई फरक अनुभव दिने गरेका छन्। स्थानीय तह, गण्डकी प्रदेश सरकार तथा अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) ले यहाँ पर्यटन प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिएका छन्। गुफासम्म सहज पहुँचका लागि रेलिङसहितको सिँढी निर्माण भएपछि पर्यटकलाई आवागमनमा धेरै सहज भएको छ।

5-1775390957.jpg
    गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्टका अनुसार ढाकमरका पहाडहरू मानवले नभई प्रकृतिले लाखौं वर्ष लगाएर बनाएका हुन्। यस क्षेत्रलाई थप आकर्षक बनाउन चालु आर्थिक वर्षमा ‘जिओलोजिकल पार्क’ निर्माणको योजना अघि बढाइएको छ, जसका लागि करिब ४३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। विस्तृत परियोजना प्रतिवेदनमार्फत थप लगानी भित्र्याउने तयारी पनि भइरहेको छ। ढाकमरको ऐतिहासिक र धार्मिक महत्व पनि उत्तिकै गहिरो छ। बौद्ध गुरु पद्मसम्भवसँग जोडिएको किम्बदन्ती अनुसार यहाँ एक राक्षसको वध हुँदा बगेको रगतका कारण पहाडहरू रातो बनेका हुन् भन्ने विश्वास गरिन्छ। यही कारण तिब्बती भाषामा ‘ढाकमर’ को अर्थ ‘रातो रगत’ भन्ने बुझिन्छ।

2-1775390973.jpg
     यस क्षेत्रसँग सम्बन्धित धार्मिक प्रमाणहरू चराङमा रहेको प्राचीन गुम्बासँग पनि जोडिएका छन्। स्थानीय बासिन्दाले ढाकमरलाई पुर्खाको उपहार र आस्थाको केन्द्रका रूपमा व्याख्या गर्दै आएका छन्। ढाकमर क्षेत्रमा रातो मात्र नभई खैरो, पहेंलो र सेतो रंगका पहाडहरू समेत देख्न पाइन्छ। साथै, उपल्लो मुस्ताङमा करिब दुई हजार वर्ष पुराना मानवनिर्मित गुफाहरू — विशेषगरी ‘सिजा झोङ्ग’ — को संख्या करिब एक हजार रहेको अनुमान गरिएको छ। यी सम्पदाले यस क्षेत्रलाई अझै रहस्यमय र आकर्षक बनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार