वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा हिमपातले बढायो धार्मिक पर्यटन आकर्षण - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा हिमपातले बढायो धार्मिक पर्यटन आकर्षण

मुस्ताङ, चैत २२ 

    मुक्तिनाथ मन्दिर परिसरमा परेको हिमपातले क्षेत्र यतिबेला सेताम्मे बनेको छ भने पर्यटक र तीर्थयात्री उत्साहित भएका छन्। वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित यस प्रसिद्ध धार्मिक स्थलमा आइतबार वर्षासँगै हिमपात हुँदा दर्शनका लागि पुगेका यात्रुले फरक अनुभव प्राप्त गरेका छन्। 

3-1775392531.jpg
    संयुक्त अरब इमिरेट्स (यूएई) बाट घर बिदामा आएका प्रदीप सुबेदी परिवारसहित दर्शनका लागि पुगेका बेला मौसमले चुनौती थपेको थियो। वर्षासँगै परेको हिमपातले मन्दिर आसपासका क्षेत्र हिउँले ढाकिए पनि उनले दर्शनसँगै हिउँमा रमाउने अवसर पाएको बताए। चैत महिनामै हिमपात हुनु स्थानीयका लागि समेत खुसीको विषय बनेको छ। 

4-1775392521.jpg
     यो वर्ष मुक्तिनाथ मन्दिर क्षेत्रमा पाँचौँ पटक हिमपात भएको हो। बिहानको समयमा मन्दिर परिसर, पदमार्ग र वरपरका क्षेत्रमा हिँडडुल गर्न केही कठिनाइ भए पनि मौसममा सुधार आएपछि अवस्था सहज बन्दै गएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। 5-1775392530.jpg     हिमपातका बाबजुद पनि तीर्थयात्रीको आवतजावत नियमित छ। रानीपौवा र खिङ्गा क्षेत्रका पर्यटकहरू सामान्य रूपमा आवत–जावत गरिरहेका छन्। स्थानीय जनप्रतिनिधिका अनुसार मन्दिर क्षेत्रमा तीर्थयात्रीको संख्या पछिल्ला दिनमा बढ्दै गएको छ, र जमेको हिउँमाथि थप हिमपात भएपछि केही दिनसम्म रमणीय दृश्य अवलोकन गर्न सकिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार