प्युठानका पालिकाहरूले घरदैलो सेवा मार्फत सामाजिक सुरक्षा भत्ता नवीकरणमा राहत प्रदान गर्दै
प्युठान, साउन १९ गते – सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि लाभग्राहीलाई वडामा उपस्थित हुनुपर्ने प्रावधानले ज्येष्ठ नागरिक, अपाङ्गता भएका र अशक्त व्यक्तिहरूका लागि असहजता सिर्जना गरेको छ। यस समस्यालाई मध्यनजर गर्दै, प्युठानका विभिन्न वडाका जनप्रतिनिधि र कर्मचारीहरूले घरदैलो सेवा प्रदान गर्दै आएका छन्।
स्वर्गद्वारी नगरपालिका–५ का वडा अध्यक्ष गिरबहादुर घर्तिमगरका अनुसार,
हामी बिहानदेखि साँझसम्म वडाका विभिन्न बस्ती टोल र घरमा पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्दै आएका छौं। शनिबारको दिनमा समेत हामी यसै अभियानमा लागेका छौं। उनले थपे, कार्यालय समयमा सर्भर डाउन हुने र सेवाग्राहीलाई टाढाबाट पुग्न असजिलो हुने समस्याका कारण हामी टोलटोलमा पुगेर सेवा प्रदान गर्दैछौं।
माण्डवी गाउँपालिका–३ का वडा अध्यक्ष धनेन्द्र कार्कीले पनि सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि कार्यालयले बिहानैदेखि कर्मचारी र जनप्रतिनिधि खटेर काम गरेको जानकारी दिए। उनले भने,साउन ७ गतेदेखि १३ गतेसम्म वडाका सात स्थानमा पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरेका छौं। टोलटोलमा पुगेर नवीकरण गर्दा जनतालाई धेरै राहत भएको छ।
गौमुखी गाउँपालिका–४ पुँजाका वडा अध्यक्ष धनिराम सुनार र उपाध्यक्ष महावीर रानाले पनि गाउँटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्दै आएका छन्। उपाध्यक्ष रानाले भने, “जनप्रतिनिधिले गाउँटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्दा नागरिकलाई धेरै सजिलो भएको छ। अनिवार्य राष्ट्रिय परिचयपत्र र स्वयं उपस्थितिका कारणले असहज महसुस गरेका लाभग्राहीलाई यस अभियानले राहत दिएको छ।
यस पहलले लाभग्राहीलाई सहज सेवा प्रदान गर्ने उद्देश्य राखेको छ र अन्य पालिकामा पनि यसलाई कार्यान्वयन गर्नका लागि प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

शुभकालिका गाउँपालिकामा पहिरो, कर्णाली राजमार्ग पुनः अवरुद्ध
