कोदारी, भोटेकोशी गाउँपालिका: सडक अवरुद्ध हुँदा व्यवसायीले बोकाएरै सामान तारे

काभ्रेपलाञ्चोक ,साउन
चीनसँगको उत्तरी सीमा नाका तातोपानी जाने अरनिको राजमार्ग अन्तर्गत कोदारीको इकोमा ८ दिनदेखि सडक अवरुद्ध छ। भोटेकोशी गाउँपालिका - २ मा पर्ने इकोमा सडक अवरुद्ध हुँदा चीनबाट ल्याइएका स्याऊ, आँप, अङ्गुर, लसुन, प्याज लगायतका सामानहरू कुहिन थालेका छन्। सडक खोल्न सडक डिभिजन कार्यालय चरिकोटले पहिरो पन्छाउँदैछ, तर भोलिसम्ममा सडक खुल्ने निश्चित छैन।
व्यवसायी शारदाप्रसाद पराजुलीका अनुसार,८ दिनदेखि नेपाल भित्रिएका कन्टेनरका फलफूल र तरकारीहरू कुहिन थालेपछि,ती सामानहरूलाई कन्टेनरबाट पल्टी गरेर भन्सार यार्डसम्म बोक्न थालिएको छ। शनिबारदेखि सुरु भएको यो कार्यमा हालसम्म १९ कन्टेनरका सामान बोकाएर पहिरो कटाइएको छ। हिजो शनिबार ७ कन्टेनर र आज १२ कन्टेनरका सामान बोकाएर पहिरो कटाइएको पराजुलीले जानकारी दिए।
तातोपानी भन्सार कार्यालयका अनुसार, नाकाको सडक खोल्न अझै केही समय लाग्ने भएकाले कुहिने सामान व्यवसायीहरूले बोकाएर भन्सार ल्याउन थालेका छन्। कतिपय फलफूल बोकेका गाडी चीनको भागमा अड्किएका कन्टेनरमा समेत सामानहरू कुहिन थालेको उनीहरूको भनाइ छ।
वडा अध्यक्ष कुमार श्रेष्ठका अनुसार, माथिबाट आएको पहिरो पन्छाएर सडक खोल्न लागि परेका छौं। पहिरो माथि बस्ती छ, त्यसलाई समेत जोगाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।
सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख अमितकुमार श्रेष्ठले भने,पहिरो पन्छाउँदै छौं,झर्न रोकिएन, भुगोल नै त्यस्तै छ। लेदो माटो झरिरहेको छ। भाँसिने समस्या छ। भोलिसम्ममा खुल्छ की भनेर लागेका छौं।
नेपाली व्यवसायीहरूले सामान हालेको झन्डै ६ सय कन्टेनर लोड भएर चिनियाँ भुभागमा अड्किएका छन् भने कतिपय सामान न्यालमको वयरहाउसमा छन्। बाढी र पहिरोले रसुवा नाका बन्द भएको कारण व्यावसायीहरू तातोपानी नाकाबाट आयात गर्न बाध्य छन्।
सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार, दशैं र तिहारका लागि ल्याइएका सामान समयमा नै बजारमा पुग्न नसक्ने अवस्था सिर्जना भएको छ

शुभकालिका गाउँपालिकामा पहिरो, कर्णाली राजमार्ग पुनः अवरुद्ध
