खप्तड छेडेदह गाउँपालिका–बुढीगङ्गा नगरपालिकाको जोड्ने पुल अलपत्र
बाजुरा, पुस २२
बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ र बुढीगङ्गा नगरपालिका–४ को सिमानामा पर्ने बार्जुगाड खोलामा निर्माण सम्पन्न भएको पुल सञ्चालनमा नआउँदा स्थानीय बासिन्दाले दैनिक आवागमनमा कठिनाइ भोग्नुपरेको छ। बेतालमान्डौ, झाली, पुडावाउला, बानेगाउँ, गुइवन हुँदै आटीचौर सडकखण्डमा सवारी आवागमन सहज बनाउने उद्देश्यले २०७६ सालमा साउद एडभेन्चर जेभीले ठेक्का लिएर २०८१ मै निर्माण सम्पन्न गरेको पुल अझै प्रयोगमा आउन सकेको छैन। पुलको दुवै छेउमा ग्याबिन नभरिएकाले सञ्चालनमा ल्याउन नसकिएको हो।

खप्तड छेडेदह–३ पुडावाउँलाबाट विद्यार्थी बुढीगङ्गा नगरपालिका–५ स्थित भानोदय माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने गरेका छन्। वर्षायाममा बार्जुगाड खोला उर्लेर बग्दा जोखिमपूर्ण रूपमा खोला तर्नु पर्ने बाध्यता रहेको स्थानीयले गुनासो गरेका छन्। पुल नहुँदा २०८० असार १० गते खोलामा बगेर एक जनाको ज्यान गएको घटना पनि भएको थियो। सरकारले २०७६ असारमा ४५ मिटर लामो पक्की पुल निर्माण सुरु गरेको थियो। निर्माण कार्य पूरा भइसकेकाले अब पुल सञ्चालनमा ल्याउने जिम्मेवारी आफूहरूको नरहेको साउद एडभेन्चर जेभीका प्रोप्राइटर ईश्वर साउदले बताउनुभयो।
भौतिक पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जगबहादुर थापाका अनुसार पुल वरिपरि ग्याबिन राख्ने कामका लागि बजेट छुट्याइसकिएको छ। “गत वर्ष २० लाख रुपैयाँ खर्चेर एक साइडमा ग्याबिन राखिएको थियो। यस वर्ष पनि करिब त्यत्तिकै रकम विनियोजन गरिएको छ। केही दिनमै ठेक्का प्रक्रियामा गएर काम सुरु हुन्छ,” उहाँले भन्नुभयो। यो वर्षभित्रै पुल सञ्चालनमा ल्याउने तयारी गरिएको उहाँको भनाइ छ।
अनुदान ढिलाइले सहिदभूमि पालिकाका पहिरोपीडित मारमा
छिन्नमस्ता गाउँपालिकामा १५० विपन्न परिवारलाई कम्बल वितरण
लोमान्थाङ गाउँपालिकाको कोरला नाकामा खानेपानी अभाव, व्यापारी समस्यामा
मेलम्ची नगरपालिकामा बाढीपछि साढे चार वर्ष, पीडित अझै असुरक्षित





