मधेशका पालिकामा बोरिङ गाडिन्छ, सञ्चालनमा आउँदैन
जनकपुरधाम ,२१ भदौ
यस वर्ष खडेरीको चपेटामा परेको मधेश प्रदेशमा किसान अझै पनि सिंचाइ अभावमै छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ५०० वटा नयाँ डिप ट्युबेल गाड्ने घोषणा गरे पनि प्रदेशमै पहिलेदेखि जडान गरिएका सयौं बोरिङहरू अझै सञ्चालनमा आएका छैनन् ।

बाराको महागढीमाई नगरपालिका–८, जोलगावामा करिब ३० वर्षअघि गाडिएको १४ इन्चको बोरिङ अहिलेसम्म चल्न सकेको छैन । स्थानीय किसानहरू मोटरको भरमा खेत सिंचाइ गर्न बाध्य छन् । धनुषा, महोत्तरी, सिरहा, सप्तरी, रौतहट, सर्लाही, बारा र पर्साका पालिकामा पनि यस्तै अवस्था छ—बोरिङ गाडिन्छ, तर कहिल्यै चल्दैन ।कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालय मातहत मधेशमा जम्मा ७६४ डिप ट्युबेल छन् । तर सञ्चालनमा आधा पनि छैनन् । प्रदेश मन्त्रालयका तथ्यांकअनुसार ५१४ मध्ये २२१ मात्र चलिरहेका छन्, बाँकी २९३ प्रयोगविहीन छन् । त्यस्तै, नक्टाझिज केन्द्रले स्थापना गरेका २५० बोरिङमध्ये पनि अधिकांश अलपत्र अवस्थामा छन् ।
कृषकहरूको भनाइमा सिंचाइ नहुँदा धान रोपाइँ ढिला हुने, केही ठाउँमा खेती नै बन्द भएर बगैँचा वा रूख रोप्ने प्रवृत्ति बढेको छ । महोत्तरीको पिपरा गाउँपालिका–७, रतौलीमा दुई दशकअघि गाडिएको बोरिङ आजसम्म नचलेपछि किसान धान रोप्न वर्षाको भर पर्न बाध्य भएका छन् ।

प्रदेशभर ४५३ डिप ट्युबेल, ५७८ पावर ड्रिल बोरिङ र ६७ सशर्त योजना अधुरै छन् । धेरैजसोमा बिजुली जडान नभएको, उपकरण अभाव, मर्मत समस्या, वा उपभोक्ता समितिबीचको विवादका कारण सञ्चालन हुन सकेका छैनन् । एउटा डिप बोरिङ पूर्ण सञ्चालनमा ल्याउन झण्डै १ करोड रुपैयाँ खर्च लाग्ने बताइएको छ ।
खानेपानी तथा सिंचाइ विशेषज्ञहरूको भनाइमा, बोरिङ गाडेपछि यसको नियमन र अनुगमन गर्ने प्रणाली नभएकै कारण यस्ता समस्या बढेका हुन् । निकायबीच समन्वयको कमी र बजेटको अभावले पनि किसान वर्षौंदेखि खडेरीको मार खेप्दै आएका छन् ।
अनुदान ढिलाइले सहिदभूमि पालिकाका पहिरोपीडित मारमा
खप्तड छेडेदह गाउँपालिका–बुढीगङ्गा नगरपालिकाको जोड्ने पुल अलपत्र
छिन्नमस्ता गाउँपालिकामा १५० विपन्न परिवारलाई कम्बल वितरण
लोमान्थाङ गाउँपालिकाको कोरला नाकामा खानेपानी अभाव, व्यापारी समस्यामा
मेलम्ची नगरपालिकामा बाढीपछि साढे चार वर्ष, पीडित अझै असुरक्षित





