दुई पालिका जोड्ने कर्णाली फेरीले सहज बनायो आवतजावत
बाजुरा, मंसिर २५
बाजुराको स्वामिकार्तिक खापर र जगनाथ गाउँपालिकाबीच बग्ने कर्णाली नदी लामो समयदेखि आवतजावतका लागि चुनौतीपूर्ण मानिँदै आएको थियो। पुरानो झोलुङ्गे पुलको भरमा स्थानीयले पैदल तथा भेडा–बाख्राजस्ता बोक्ने जनावरमार्फत दैनिक सामान ल्याउने–लैजाने गर्थे। पहिले सडक नहुँदा बासिन्दाले बार्जुगाड, तिपाडा, मार्तडी, कोल्टी र पीलिचौरसम्म पिठ्युँमा भारी बोकेर सामान ल्याउनुपर्ने बाध्यता थियो। तर पछिल्ला वर्षमा गाउँ–गाउँमा सडक पुगेसँगै स्थिति फेरिएको छ।

कर्णाली नदीमा राखिएको फेरी सञ्चालनमा आएपछि यहाँका बस्तीमा मोटरसाइकल, जिप र ट्र्याक्टरजस्ता सवारीसाधन वारपार गर्न सहज भएको छ। यसले स्थानीयको दैनिकीमा ठूलो परिवर्तन ल्याएको स्वामिकार्तिक खापर–४ का विरभान बिकले बताए। “पहिले पिठ्युँमै भारी बोकेर सामान ल्याउनु पर्ने थियो। अहिले फेरी भएर गाडी आइपुग्छ,” उनले भने।
हिउँदको समयमा फेरी नियमित रूपमा चल्ने भएकाले सडकमा सवारी आवागमन सहज हुन्छ। तर वर्खामा कर्णाली नदीको पानी बढ्ने भएकाले फेरी सञ्चालन रोक्नुपर्ने बाध्यता रहन्छ। त्यस समयमा झोलुङ्गे पुलको सहाराले मानिस र सामान मात्रै ओसार्नुपर्ने अवस्था यथावत रहन्छ।
स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाका अनुसार कर्णाली नदीमा पक्की पुल निर्माण गरिन नसक्दा वर्षायामका समस्या समाधान हुन सकेका छैनन्। संघीय सरकारले चुल्लीगाड क्षेत्रमा पुल निर्माणका लागि बजेट विनियोजन गरे पनि काम अघि नबढेपछि अब झोलुङ्गे पुलमुनि नयाँ पक्की पुल निर्माणका लागि पहल भइरहेको उनले बताए।

फेरी सञ्चालनले स्वास्थ्य, शिक्षा, व्यापार तथा यातायातमा सकारात्मक प्रभाव पारेको स्थानीयको भनाइ छ। तर स्थायी पुल नबन्दा वर्षायाममा अझै समस्या रहने भएकोले दिगो समाधानका लागि छिटो पुल निर्माण हुनुपर्ने माग स्थानीयले दोहोर्याएका छन्।
अनुदान ढिलाइले सहिदभूमि पालिकाका पहिरोपीडित मारमा
खप्तड छेडेदह गाउँपालिका–बुढीगङ्गा नगरपालिकाको जोड्ने पुल अलपत्र
छिन्नमस्ता गाउँपालिकामा १५० विपन्न परिवारलाई कम्बल वितरण
लोमान्थाङ गाउँपालिकाको कोरला नाकामा खानेपानी अभाव, व्यापारी समस्यामा
मेलम्ची नगरपालिकामा बाढीपछि साढे चार वर्ष, पीडित अझै असुरक्षित





