व्यास नगरपालिकाको उदासीनतामा कैद झलकको जीवन
तनहुँ, ६ पुस
मानव अधिकार, समावेशी समाज र अपाङ्गमैत्री नीतिका चर्चा भइरहँदा तनहुँको व्यास नगरपालिका–८, बर्लाचीमा भने २६ वर्षीय झलक बिक अमानवीय अवस्थामा जीवन बिताउन बाध्य छन्। जन्मजात बहुअपाङ्गता भएका झलक हिँडडुल गर्न असमर्थ छन् । शारीरिक अवस्था नियन्त्रणमा नहुने, घिस्रेर हिँड्ने र दिसापिसाब आफैँ नियन्त्रण गर्न नसक्ने अवस्थाका कारण उहाँलाई घरकै खामामा दाम्लोले बाँधेर राख्नुपरेको छ।
झलककी आमा कालिमाया बिकले छोरालाई बाँधेर राख्नु बाध्यता भएको बताउनुहुन्छ। चार वर्षकै उमेरमा श्रीमान् गुमाएकी कालिमायाले त्यसयता एक्लैले छोराको स्याहार, उपचार र जीविकोपार्जन गर्दै आउनुभएको छ। “काम गर्न खेतबारी जानैपर्छ, घर बाहिर घिस्रिँदा लड्ने र घाइते हुने डर हुन्छ,” उहाँले भक्कानिँदै भन्नुभयो, “आमाको मनले होइन, परिस्थितिले बाँध्न बाध्य बनाएको हो।” झलकको शरीर मात्र होइन, उहाँको बाल्यकाल, युवा उमेर र भविष्यसमेत दाम्लोमा कैद भएको देखिन्छ। विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय धाउँदा पनि आश्वासनबाहेक व्यवहारिक सहयोग नपाएको कालिमायाको गुनासो छ।

रिसेड तनहुँले उपलब्ध गराएको ह्वीलचेयर झलकको अवस्थाअनुसार उपयोगी नभएको उहाँले बताउनुभयो। “चढाउन–झार्न गाह्रो छ, पल्टिने जोखिम छ, प्रयोग नै गर्न सकिएन,” कालिमायाले भन्नुभयो। झलकलाई सुरक्षित र सम्मानजनक जीवनका लागि बरान्डासहितको आवास, भित्र सुत्ने कोठा र अपाङ्गमैत्री शौचालय आवश्यक भए पनि आर्थिक अभावले सम्भव नभएको उहाँको भनाइ छ। अपाङ्गता अधिकारकर्मी ईश्वर बास्तोलाले यस्तो अमानवीय अवस्थाबाट मुक्त गराउन सरकारी निकायले तत्काल पहल गर्नुपर्ने बताउनुभयो। “विशेषतः स्थानीय सरकारले गम्भीर चासो राखेर दीर्घकालीन समाधान खोज्नुपर्छ,” उहाँले जोड दिनुभयो।
व्यास–८ स्थित अपाङ्गता स्वावलम्बन समूहकी सचिव शोमा लम्सालले झलकको अवस्था देख्दा मन भारी हुने गरेको बताउनुभयो। राष्ट्रिय अपाङ्ग महासङ्घ गण्डकी प्रदेशकी सदस्य सङ्गीता शर्माले अपाङ्गता भत्ता मात्र पर्याप्त नहुने भन्दै झलकको अवस्थाअनुसार संरचनागत र मानवीय सहयोग जुटाउन सरकारी तथा गैरसरकारी संस्थाबीच समन्वय आवश्यक रहेको बताउ नुभयो।
अनुदान ढिलाइले सहिदभूमि पालिकाका पहिरोपीडित मारमा
खप्तड छेडेदह गाउँपालिका–बुढीगङ्गा नगरपालिकाको जोड्ने पुल अलपत्र
छिन्नमस्ता गाउँपालिकामा १५० विपन्न परिवारलाई कम्बल वितरण
लोमान्थाङ गाउँपालिकाको कोरला नाकामा खानेपानी अभाव, व्यापारी समस्यामा
मेलम्ची नगरपालिकामा बाढीपछि साढे चार वर्ष, पीडित अझै असुरक्षित





