चुरे गाउँपालिकामा वर्षौँदेखि पालमुनि जीवन बिताउँदै विस्थापित परिवार
कैलाली, ७ पुस
कैलालीको चुरे गाउँपालिका–४ अन्तर्गत बालुवागडा नजिकैको जङ्गल किनारमा दर्जनौँ परिवार अस्थायी पालमुनि जीवन गुजारिरहेका छन् । तीमध्ये नवलसिंह घर्तीको परिवार विगत तीन वर्षदेखि यही स्थानमा आश्रय लिएर बस्दै आएको छ । केही वर्षअघि आएको भीषण पहिरोले चुरे–४, मसुरी गाउँमा रहेको घर बगाएपछि घर्ती परिवार विस्थापित भयो । त्यसपछि जग्गा भाडामा लिएर बनाएको घर पनि जग्गाधनीले बिचैमा नदिएपछि छाड्नुपर्यो । “त्यसपछि जङ्गलको बीचमा बस्न थाल्यौँ,” नवलसिंह विगत सम्झँदै भन्नुहुन्छ, “तर वन अतिक्रमणको आरोपमा त्यहाँबाट पनि हटाइएपछि अहिले जङ्गलको छेउमा आएर बस्नुपरेको छ ।”

जमिन गुम्दा जङ्गलको शरण
उस्तै पीडा भोगिरहेका अर्का विस्थापित हुन् रतन नाथ । डडेल्लधुरा पुख्र्यौली घर भएका रतन सानैमा अभिभावक गुमाएपछि रोजगारीका लागि भारत गएका थिए । उनी भारतमै रहँदा गाउँमा आएको नापी टोलीमार्फत आफन्तले उनको नाममा हुनुपर्ने जग्गा आफ्नै नाममा दर्ता गराइदिए । “म फर्किँदा टेक्ने जमिनसमेत थिएन,” रतन भन्छन् । विसं २०६० मा चुरे गाउँपालिका–४ को गुठीको जमिनमा बसोबास गरे पनि त्यहाँबाट हटाइएपछि उनी हाल सूर्यमुखी आधारभूत विद्यालय नजिकैको खेलमैदान छेउ पालमुनि बसिरहेका छन् । विद्यालयले मैदान खाली गरिदिन दबाब दिइरहेको र अब कहाँ जाने भन्ने अन्योल रहेको उनको गुनासो छ ।

जोखिमपूर्ण पालमुनिको दैनिकी
बालुवागडा क्षेत्रमा हाल १५ भन्दा बढी परिवार अस्थायी टहरामा बसोबास गरिरहेका छन् । केही परिवारका अभिभावक रोजगारीका लागि भारत गएकाले पालमा बालबालिकामात्र बस्नुपर्ने अवस्था छ । जाडो, वर्षा र सर्प–बिच्छीको डरबीच उनीहरूको दैनिकी बितिरहेको छ । स्थानीय कलि नाथका अनुसार वर्षायाममा पानी चुहिएर अन्न, लत्ताकपडा भिज्छ । “पानी पर्दा टहराभित्रै भेल पस्छ,” उहाँ भन्छन्, “रातभरि बिच्छी र किराको डरले सुत्नै सकिँदैन ।”

गिट्टी कुटेर गुजारा
घरबारविहीन परिवारका महिलाहरूको मुख्य आम्दानीको स्रोत बालुवा खोलामा सङ्कलन गरिने गिट्टी हो । प्रति घनमिटर करिब १,५०० रुपैयाँमा बिक्री हुने गिट्टीबाट आएको पैसाले नुन–तेल र छोराछोरीको पढाइ खर्च चलाइन्छ । “छोराछोरीको परीक्षा नजिकिँदै छ,” बुदीसरा सिंजाली भन्छिन्, “गिट्टी बेचेर आएको पैसाले परीक्षा शुल्क तिर्ने सोच बनाएको छु ।”
वैकल्पिक बसोबासको अभाव
चुरे गाउँपालिका–४ का वडाध्यक्ष चन्द्रबहादुर लामिछाने मगरका अनुसार २०७७ सालको बाढी र अन्य कारणले विस्थापित ११६ परिवार पनेरुगडा, टाँकगडा, बालुवागडा र चुरे–१ का विभिन्न स्थानमा अस्थायी रूपमा बसिरहेका छन् । सुरुमा करिब ७ सय परिवार वन क्षेत्रमा बसेको भए पनि छानबिनपछि ११६ परिवार मात्रै पूर्ण रूपमा घरबारविहीन रहेको पुष्टि भएको उहाँले जानकारी दिनुभयो । “समस्या गम्भीर छ,” वडाध्यक्ष मगर भन्छन्, “तर स्थानीय तहसँग तत्काल व्यवस्थापन गर्ने आफ्नै जमिन छैन । वन कार्यालयले हटाउन खोज्छ, पीडितसँग जाने ठाउँ छैन ।”

सरकारतर्फ आशा
वर्षौँदेखि विस्थापित बनेका चुरेका यी परिवारहरू सुरक्षित बसोबासको प्रतीक्षामा छन् । राज्यका नागरिक भएकाले सरकारले अभिभावकको भूमिका निभाउँदै स्थायी समाधान निकालोस् भन्ने उनीहरूको साझा अपेक्षा छ ।
अनुदान ढिलाइले सहिदभूमि पालिकाका पहिरोपीडित मारमा
खप्तड छेडेदह गाउँपालिका–बुढीगङ्गा नगरपालिकाको जोड्ने पुल अलपत्र
छिन्नमस्ता गाउँपालिकामा १५० विपन्न परिवारलाई कम्बल वितरण
लोमान्थाङ गाउँपालिकाको कोरला नाकामा खानेपानी अभाव, व्यापारी समस्यामा
मेलम्ची नगरपालिकामा बाढीपछि साढे चार वर्ष, पीडित अझै असुरक्षित





