अदानचुली गाउँपालिकामा सडक विस्तार, बिगोठी गाउँमा पुग्यो सडक
हुम्ला, पुस १३
हिमाली जिल्ला हुम्लाको अदानचुली गाउँपालिकाका दुर्गम बस्तीहरू क्रमशः सडक सञ्जालसँग जोडिँदै गएका छन्। यसै क्रममा आइतबार वडा नम्बर ४ स्थित बिगोठी गाउँमा सडक पुगेको छ।
गाउँपालिकाले निर्माण गरेको लौठी–रिल्म–बिगोठी ग्रामीण सडक खण्ड सम्पन्न भएपछि बिगोठी गाउँ पहिलोपटक सडक पहुँचमा आएको हो। तीन वर्षअघि सुरु गरिएको सडक निर्माण विभिन्न कारणले बीचमा रोकिँदै आए पनि हाल औपचारिक रूपमा सम्पन्न भएको स्थानीय छबिलाल थापाले जानकारी दिनुभयो। स्थानीयको दैनिक जीवनलाई सहज बनाउने उद्देश्यले गाउँपालिकाले प्रत्येक वर्ष सडक निर्माणलाई प्राथमिकतामा राख्दै आएको छ। त्यसकै परिणामस्वरूप अहिले बिगोठी गाउँ सडक सञ्जालसँग जोडिन सफल भएको हो।

सडक निर्माण सम्पन्न भएसँगै गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले उक्त सडकको औपचारिक उद्घाटन गर्नुभएको छ। उद्घाटनसँगै दुई वटा बोलेरो जिप, एउटा ट्र्याक्टर र मोटरसाइकलसमेत गाउँसम्म पुगेका छन्। सडक खुलेसँगै अदानचुली गाउँपालिकाका सबै ६ वटै वडाहरू औपचारिक रूपमा सडक पहुँचमा आएका छन्। यसले स्थानीयवासीलाई दैनिक उपभोग्य वस्तु ढुवानी, आवतजावत तथा सेवा–सुविधामा ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।

यसअघि यहाँका नागरिकले खाद्यान्न र अन्य सामग्री ढुवानीका लागि दुईदेखि चार घण्टासम्म पैदल यात्रा गर्नुपर्थ्यो। अहिले सडक पुगेपछि गाडीमार्फत छोटो समयमा नै सामग्री घरसम्म पुर्याउन सकिने भएपछि स्थानीयवासी खुसी देखिएका छन्।
अनुदान ढिलाइले सहिदभूमि पालिकाका पहिरोपीडित मारमा
खप्तड छेडेदह गाउँपालिका–बुढीगङ्गा नगरपालिकाको जोड्ने पुल अलपत्र
छिन्नमस्ता गाउँपालिकामा १५० विपन्न परिवारलाई कम्बल वितरण
लोमान्थाङ गाउँपालिकाको कोरला नाकामा खानेपानी अभाव, व्यापारी समस्यामा





