लोमान्थाङ गाउँपालिकाको कोरला नाकामा खानेपानी अभाव, व्यापारी समस्यामा
मुस्ताङ, पुस १७
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ अन्तर्गत पर्ने छोसेरस्थित कोरला नाकामा व्यवसाय गर्ने स्थानीय व्यापारीहरू गम्भीर खानेपानी संकटसँग जुधिरहेका छन्। सीमावर्ती दसगजा क्षेत्रमा सञ्चालन भइरहेका व्यापारिक टेन्टमा आवश्यक पर्ने पिउने पानी १४ किलोमिटर तल नेचुङ तथा मुस्ताङ भन्सार कार्यालय क्षेत्रबाट ढुवानी गर्नुपर्ने बाध्यता रहेको छ।

स्थानीय व्यवसायी कुन्जङ वाङमो गुरुङका अनुसार सवारीसाधनमार्फत २० देखि ४० लिटर पानी ल्याउन प्रतिपटक २ सयदेखि ३ सय रुपैयाँसम्म खर्च गर्नुपर्छ। चिसो मौसममा माइनस तापक्रम हुँदाहुँदै पनि नेपाली व्यवसायी, चालक तथा मजदुरलाई सेवा दिनुपर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ। स्थानीय टेन्ट व्यवसाय समिति सदस्य खावा सेरिङ गुरुङले कोरला नाकामा सामान ढुवानी गर्न आउने ट्रकमार्फत नै पानी ल्याउने गरेको जानकारी दिनुभयो। उहाँका अनुसार नियमित खानेपानी नहुँदा व्यापार सञ्चालन गर्न समेत कठिन हुँदै गएको छ।

खानेपानी अभावकै कारण कोरला नाकाका व्यापारीहरू छिमेकी मुलुक चीनको तिब्बत स्वशासित क्षेत्रस्थित लिजी भन्सार कार्यालयमा निर्भर हुन थालेका छन्। चिनियाँ अधिकारीहरूले कहिलेकाहीँ पाइपमार्फत पानी उपलब्ध गराउने गरे पनि यो स्थायी समाधान नभएको स्थानीयको गुनासो छ। हाल कोरला नाकामा रहेका ५० भन्दा बढी स्थानीय व्यवसायीले नियमित खानेपानीको समस्या भोग्दै आएका छन्। युवा व्यवसायी पेमा छिरिङ गुरुङ भन्नुहुन्छ, “पिउने पानीका लागि पनि चिनियाँ पक्षकै भर पर्नुपरेको छ, तल गाउँबाट ढुवानी गर्न निकै झन्झटिलो हुन्छ।” कोरला नाकामा सञ्चालनमा रहेका ५० टेन्टमा करिब १ सय ५२ जना प्रत्यक्ष रूपमा आबद्ध छन् भने सिजनमा चालक, मजदुर र पर्यटक गरी दैनिक एक हजारभन्दा बढी मानिसको आवागमन हुने गरेको छ। तर, खानेपानीसँगै शौचालय र फोहोर व्यवस्थापनको समेत गम्भीर अभाव रहेको विद्युतिय सवारीसाधन चालक व्यवस्थापन समितिका अध्यक्ष घरचिङ गुरुङले बताउनुभयो।

“यहाँ एउटा पनि व्यवस्थित शौचालय छैन। अस्थायी शौचालय हावाहुरीले टिक्दैन,” उहाँको भनाइ छ। यस कारण पर्यटकहरू सार्वजनिक स्थानमै शौच गर्न बाध्य हुने अवस्था सिर्जना भएको छ। विशेष आर्थिक क्षेत्र स्थापनाको सम्भाव्यता अध्ययनका लागि पुगेको ओजा इन्जिनियरिङ प्रालिको प्राविधिक टोलीले सरकारी संरचना निर्माणभन्दा पहिला खानेपानी, शौचालय र फोहोर व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएको छ। टोलीका इन्जिनियर रोशन सापकोटाका अनुसार जाडोयाममा पानी जमेर बरफ बन्ने भएकाले समस्या अझ जटिल हुने गरेको छ।

“कहिलेकाहीँ चिनियाँ सुरक्षाकर्मीलाई ट्यांकरमा पानी माग्नुपर्ने अवस्था आउँछ,” उहाँले भन्नुभयो। पर्यटन सिजनमा एकैदिन पाँच हजारसम्म आन्तरिक पर्यटक पुग्ने कोरला नाकामा दुर्गन्ध फैलिने जोखिम बढेकाले अस्थायी तथा स्थायी शौचालय र खानेपानी स्रोतको तत्काल व्यवस्थापन आवश्यक रहेको प्राविधिक टोलीको निष्कर्ष छ। हाल कोरला नाकामा सुरक्षा निकाय र आपतकालीन प्रयोजनका लागि निर्माण गरिएको १० कोठे प्रिफ्याब प्रविधिको अस्थायी भवन बाहेक अन्य सरकारी संरचना छैनन्। आधारभूत सेवा नपुग्दा स्थानीय व्यवसायी मारमा परेका छन्।
स्थानीय व्यवसायी कुन्साङ गुरुङका अनुसार सरकारी निकायबीच समन्वय भएमा चिनियाँ क्षेत्रबाट पाइप विस्तार गरी स्थायी रूपमा खानेपानी ल्याउन सकिने सम्भावना छ।
अनुदान ढिलाइले सहिदभूमि पालिकाका पहिरोपीडित मारमा
खप्तड छेडेदह गाउँपालिका–बुढीगङ्गा नगरपालिकाको जोड्ने पुल अलपत्र
छिन्नमस्ता गाउँपालिकामा १५० विपन्न परिवारलाई कम्बल वितरण
मेलम्ची नगरपालिकामा बाढीपछि साढे चार वर्ष, पीडित अझै असुरक्षित





