भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा डोका व्यवसायको भविष्य र चुनौतीहरू - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
आर्थिक

भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा डोका व्यवसायको भविष्य र चुनौतीहरू

    भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ४० वर्षीय चन्दबहादुर तामाङले डोका बिक्रीबाट मासिक करिब ३५ हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन्।

2-1754385087.JPG
    प्रविधिको विकाससँगै गाउँघरमा परम्परागत सामग्रीहरू जस्तै नाङ्लो, डोको, थुन्से, फिपी, ढाँकी, मान्द्रो, डालोलगायत बनाउने चलन लोप हुँदै गएको अवस्थामा तामाङले डोका बनाउने कला जगेर्ना गर्दै आएको बताएका छन्। स्थानीय बजारमा डोका को राम्रो माग रहेकाले उनले भोजपुर सदरमुकाम तथा आसपासका बजारमा आफ्नो उत्पादन बिक्री गर्दै आएका छन्। डोका बुन्ने कामबाट परिवार धान्न कुनै समस्या नभएको उनले बताए। करिब ४१ वर्षदेखि डोका बुनेर बिक्री गर्दै आएका तामाङले एक दिनमा ८ देखि १० वटा डोका बनाउने जानकारी दिएका छन्।

 

1-1754385076.jpg
 

  उनका अनुसार, स्थानीय बजारमा डोका प्रति एकाइ ३५० देखि ४०० रुपैयाँसम्ममा बिक्री हुन्छ। यदि यही कामलाई मात्र व्यवसायको रूपमा अघि बढाइयो भने वार्षिक करिब सातदेखि आठ लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने उनको भनाइ छ। कृषि कार्यसँगै बाँकी समयमा डोका बुनेर पनि वार्षिक तीनदेखि चार लाख रुपैयाँसम्म आम्दानी सम्भव रहेको तामाङले बताए।

 

5-1754385490.JPG
 

    डोका बनाउन प्रयोग हुने मालिंगो ९ लेकमा पाइने बाँस प्रजाति  बाट बनेका डोका राम्रो टिकाउ हुने र तीन वर्षसम्म चल्ने उनको अनुभव छ। मालिंगो बाहेक सिँगाने, निकालो र बाँसको चोयाबाट पनि डोका बनाउन सकिन्छ। डोकाका लागि विभिन्न ठाउँबाट माग हुने गरेको उनले बताए।तर, सामुदायिक वनको कडाइका कारण कच्चा पदार्थ जुटाउन कठिनाइ भइरहेको छ। मालिंगो काट्न वर्षमा एकपटक मात्र वन खुला हुने भएकाले आफ्नै निजी बारीमा उत्पादन हुने मालिंगो र अन्य कच्चा सामग्री प्रयोग गरेर डोका बुन्दै आएको तामाङले बताए।

 

4-1754385490.JPG
   प्रविधिको विकासका कारण गाउँघरमा परम्परागत सीपहरू हराउँदै गएपछि तामाङले यस कलालाई जगेर्ना गर्न र व्यवसायीकरण गर्नुपर्नेमा जोड दिएका छन्। बुढापाकाले मात्रै यस्ता सामग्री बनाउने चलन रहेकाले स्थानीय तह र सरकारले यसलाई संरक्षण तथा प्रवर्द्धन गर्न आवश्यक रहेको उनले बताए। तामाङले यस परम्परागत व्यवसायलाई समृद्ध बनाउन सरकार र स्थानीय तहबाट सहयोग अपेक्षा गरेका छन्।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप आर्थिक