डुडुवा र राप्तीसोनारी गाउँपालिकालाई जोड्ने सिधनियाघाट पुल निर्माणमा ५०% प्रगति
डुडुवा,४ भदौ
बाँकेको राप्ती नदीस्थित सिधनियाघाटमा निर्माण भइरहेको पक्की पुलको कार्यमा करिब ५० प्रतिशत प्रगति भएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार पुल निर्माणको कार्यमा हालसम्म भौतिक र वित्तीय गरी करिब ५० प्रतिशत प्रगति भएको छ। उहाँका अनुसार सम्झौता भएपछि करिब एक वर्ष पुलको डिजाइनमा समय लाग्यो, अब असारभित्र निर्माण सम्पन्न हुने गरि काम तीव्र गतिमा भइरहेको छ।
सिधनियाघाटमा करिब डेढ दशक अघि निर्माण सम्पन्न भएको पुल साँघुरो भएपछि फराकिलो पुल निर्माण थालिएको हो। पुल निर्माणका लागि २०७९ माघ १० गते लुम्बिनी रौताह बन्धन भगवती जेभी काठमाडौँसँग ५३ महिनामा काम सम्पन्न हुने गरी सम्झौता भएको हो। पुलको लागत भ्याटसहित एक अर्ब १९ करोड रुपियाँ छ।
सिधनियाघाटमा अब ७०० मिटर पुल र एक हजार ४८० मिटर एप्रोच सडक र ४ किलोमिटर नदी नियन्त्रणको काम एकसाथ सम्पन्न हुने योजना प्रमुख भण्डारीको भनाइ छ। यसैगरी, ३०० मिटर ढलानको काम हुनेछ। हालको ३५० मिटर लामो पुल नजिकै नयाँ पुल निर्माण थालिएको हो।
स्थानीयले पुलको लम्बाइ ४४० मिटर थप गरी एक हजार १४० मिटर पुर्याउन माग गरेपछि योजना कार्यालयले निर्देशनालयमा लिखित अनुरोधसहितको पत्र पठाएको छ। आयोजनाका निर्देशकसहितको उच्च स्तरीय टोलीले पुल निर्माण स्थलमै पुगेर स्थलगत जानकारी लिएर फर्किसकेको छ।
हुलाकी सडक पछिल्लो समय नेपालगञ्जबाट दाङ हुँदै पूर्वतर्फ जानका लागि वैकल्पिक मार्गको रुपमा प्रयोग भइरहेकाले फराकिलो पुल बनेपछि थप सहज हुने भएको छ। साँघुरो पुल भएका कारण हाल सवारी साधनहरु पालो कुरेर पुल पार गर्नुपर्ने बाध्यता छ। निर्माणाधीन पुल ११ मिटर चौडाइको भएकाले पुलमा सवारीसाधन सहज वारपार गर्न सकिनेछ। भारतीय सीमासँग जोडिएको नरैनापुर गाउँपालिका यही पुल भएर जानुपर्दछ।

काठमाडौं उपत्यकाका नगरपालिकामा 'नेपाल कला र संस्कृति महोत्सव' सुरु

ललितपुर महानगरपालिकाले लगनखेलमा अवैध संरचना हटायो
सार्वजनिक जमिन अतिक्रमणविरुद्ध रामग्राम नगरपालिकाको डोजर कारबाही
