कानेपोखरी गाउँपालिकाद्वारा १२२ विपन्न परिवारलाई पक्की घर हस्तान्तरण
विराटनगर,१५ भदौ
कानेपोखरी गाउँपालिका–३ कोलटोलकी दागे चौधरी जीवनभर मजदुरी गरेर गुजारा चलाइन्, तर आफ्नै पक्की घर बनाउन कहिल्यै सकिनन्। फुसको छानो भएको सानो छाप्रोमै बस्दै आएकी उनी अहिले भने भुइँ ढलाइ र टिनको छानावाला पक्की घरमा बस्न पाउँदा उत्साहित छिन्।
त्यस्तै, गाउँपालिका–४ क्याम्पाघाटकी फूलमति चौधरी पनि मजदुरीमै जीवन गुजार्छिन्। हिउँदमा सामान्य देखिने उनको फुसको घर वर्षा लाग्दा भने पानी चुहिन्थ्यो। अहिले उनले पनि नयाँ पक्की घर पाएकी छन्।
यस्तै, मजदुरीमै दिन बिताएका गोदला ऋषिदेव पनि गाउँपालिकाको पहलमा नयाँ घर पाउने लाभग्राही बनेका छन्।
१२२ परिवारलाई घर वितरण
कानेपोखरी गाउँपालिकाले हालसम्म १२२ अतिविपन्न परिवारलाई पक्की घर निर्माण गरी हस्तान्तरण गरेको छ। गत शनिबार मात्रै वडा नम्बर १ झर्नाघुट्टुमा ११ र वडा नम्बर ३ कोलटोलमा ३० गरी ४१ परिवारलाई घर हस्तान्तरण गरिएको हो।
घर हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष राजमती इङनाम, प्रदेश सांसद लिलाबल्लभ अधिकारी र सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल उपस्थित थिए।

सहकार्यमा बनेका दुई कोठे घर
‘सहारा नेपाल’ र ‘हेभिटाट फर ह्युमानिटी नेपाल’ को सहकार्यमा बनेका यी आवासीय घरमा दुई कोठा, भान्सा र शौचालय छन्। भुइँ ढलाइ भएको र टिनले छाएको यी घर निर्माणमा प्रशोधित बाँसको प्रयोग गरिएको छ।
शनिबार हस्तान्तरण गरिएका ४१ घर बनाउन २ करोड २८ लाख रुपैयाँभन्दा बढी लागत लागेको गाउँपालिकाले जनाएको छ। एक घरको लागत करिब ५ लाख ५६ हजार रुपैयाँ पर्छ।

थप ५० घर निर्माण प्रक्रिया सुरु
गाउँपालिका अध्यक्ष इङनामका अनुसार वडा नम्बर १ मा ३०, वडा नम्बर ३ मा ६०, वडा नम्बर ४ मा १७ र प्रदेश सरकारसँग सहकार्यमा ३४ घर बनेका छन्। उनले थप ५० घर निर्माणको प्रक्रिया अघि बढेको जानकारी दिइन्।
उपाध्यक्षका रूपमा कार्यरत रहँदा सडक निर्माण अनुगमनका क्रममा स्थानीयको गुनासो सुनेपछि विपन्न परिवारका लागि आवास निर्माणलाई प्राथमिकतामा राखेको बताउँदै अध्यक्ष इङनाम भन्छिन्।
हामीले सडक बनाएर मात्रै काम सकियो भन्न सक्दैनौं। जसको टाउकोमा छानो छैन, उसलाई स्थायी आवास दिनु नै साँचो विकास हो भन्ने मान्यता राखेर यो अभियान अघि बढाइएको हो।
रामधुनी नगरपालिकाको पहलमा शङ्करबेली सिमसार पर्यटकीय केन्द्र बन्दै
भोटखोला गाउँपालिकामा थुदाम जातिको जीवनशैली र सांस्कृतिक परम्परा
पाँचखाल नगरपालिकामा चुनावी एजेन्डा बन्यो आलुको मूल्य र मल अभाव
भोजपुर नगरपालिकामा सुन्तलाका बोट सुक्न थालेपछि किसान समस्यामा
विष्णुपुर गाउँपालिकामा सरस्वती पूजाको तयारी, मूर्तिकारहरू शृङ्गारमा व्यस्त




-1775551031.png)
