धरान उपमहानगरपालिका–५ मा लेदुवा खोला पुल पाँच वर्षदेखि अलपत्र
धरान,भाद्र १८
धरान उपमहानगरपालिका–५ स्थित लेदुवा खोलामा निर्माणाधीन पुल पाँच वर्षदेखि अलपत्र परेपछि स्थानीयवासी वर्षाको समयमा ठूलो जोखिम मोलेर खोला तर्न बाध्य भएका छन्।
२०७८ साउन ७ गते सम्म सम्पन्न हुनु पर्ने पुल अहिले पनि ६४ प्रतिशत मात्र काम सकिएको अवस्थामा रोकिएको छ। ठेकेदार कम्पनीले पटक–पटक म्याद थप्दा पनि काम अघि नबढेपछि स्थानीयमा असन्तोष चुलिएको छ।
शिक्षा, स्वास्थ्य र कृषि प्रभावित
धरान–५ का करिब १५ हजार जनसंख्या मात्र नभई धरान–४ का बासिन्दा समेत यस पुलको अभावमा सास्ती खेपिरहेका छन्। विशेषगरी बालबालिकाको शिक्षा प्रभावित भएको छ। वडा नं. ५ मा कक्षा ५ सम्म मात्रै अध्यापन हुने विद्यालय भएकाले माथिल्लो कक्षाका ५७ विद्यार्थीलाई दैनिक खोला पार गरेर धरान बजार पुग्नुपर्ने बाध्यता छ। बर्खामा खोला बढ्दा त उनीहरूलाई बाँस र डोरीको सहाराले समेत विद्यालय पठाउनुपर्ने अवस्था रहेको स्थानीय नरबहादुर मगरले बताए।
स्वास्थ्य उपचारदेखि कृषि उत्पादन बजारसम्म पुर्याउन कठिनाइ भइरहेको छ। स्थानीय उत्पादन– सागसब्जी, दूधलगायतको आपूर्ति पनि खोलाको कारण बजार पुर्याउन समस्या भएको गाउँलेहरूको गुनासो छ।
ठेकेदार लापरबाही, सरकारी प्रयास रोकियो
२०७७ साउन ४ गते कोसी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा १ करोड २१ लाख ८६ हजार रुपैयाँमा वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता भएको थियो। एक वर्षमै काम सम्पन्न गर्ने सम्झौता भए पनि हालसम्म पिलर मात्र बनेका छन्। स्थानीय विरोधपछि गत चैतमा भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईले स्थल अनुगमन गरी तत्काल काम सम्पन्न गर्न निर्देशन दिएका थिए। त्यसपछि केही दिन गिट्टी–बालुवा झारिए पनि फेरि काम ठप्प भएको छ।

मन्त्री राईका अनुसार, काम नगरेपछि ठेक्का रद्द गरी धरौटी जफत गर्ने प्रक्रियासमेत सुरु गरिएको थियो। तर अदालतको स्टे–अर्डर आएपछि सरकारी कदम रोकिएको छ।

स्थानीयवासीको माग
पुल निर्माणमा ढिलाइ हुँदा जीवनयापन नै कठिन भएको स्थानीयको भनाइ छ। अस्थायी पुल वा विकल्पको व्यवस्था नभएकाले वर्षेनी खोला तर्ने क्रममा दुर्घटनाको जोखिम बढेको उनीहरूको अनुभव छ।
बुढीगङ्गा नगरपालिकामा नगर भवन निर्माण ठेक्कामा अनियमितता
शितगङ्गा नगरपालिकाको पहलमा इलाका प्रशासन कार्यालय स्थापना माग
घोराही उपमहानगरपालिकामा राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
तानसेन नगरपालिका खेलप्रेमी र सर्वसाधारणले लुम्बिनी लायन्सलाई स्वागत गरे
काठमाडौं महानगरपालिकाको नेतृत्वमा पुस्तान्तरण केवल नेतृत्व फेर्नु होइन : उपमेयर डंगोल





