सुखीपुर नगरपालिकामा डोम समुदायमाथि विभेद र आक्रमण - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
सामाजिक

सुखीपुर नगरपालिकामा डोम समुदायमाथि विभेद र आक्रमण

सिरहा, भदौ २०

   सिरहाको सुखीपुर नगरपालिका–१०, विश्वकर्मा चोकमा बसोबास गर्दै आएको डोम समुदायमाथि छिमेकीहरूले निरन्तर दबाब र दुर्व्यवहार गर्दै आएको खुलेको छ। जातकै आधारमा गरिएको विभेदकै कारण बुधबार गणपति मल्लिक डोमको परिवारमाथि निर्घात आक्रमण भएको हो।

  ५० वर्षीया सुमित्रा मल्लिक कुटपिटबाट गम्भीर घाइते भइ उपचाररत छन्। शरीरभरि नीलडाम परेकी उनी अझै पनि बोल्न सक्ने अवस्थामा छैनन्। उनकी छोरी रिना मल्लिकका अनुसार घरअगाडिको झाडी सफा गर्ने क्रममा छिमेकी सहदेव महतो, सुकदेव महतो, नागेन्द्र महतो, दुखरन महतो, रिना महतो र श्यामसुन्दर महतोले परिवारलाई सामूहिक कुटपिट गरेका थिए।

4-1757061181.jpg
  सुमित्रासँगै उनका ज्वाइँ संजय मल्लिक पनि घाइते भए भने प्राथमिक उपचारपछि घर फर्किसकेका छन्। पीडित गणपति मल्लिकका अनुसार छिमेकीहरूले लामो समयदेखि “अछुत” भन्दै अपमान, धाकधम्की र सामाजिक बहिष्कार गर्दै आएका छन्।

  गणपतिले भने, “हामीलाई कहिले डोमको मुख देखेर दिन बिग्रियो भन्छन्, कहिले देउता बिग्रियो भन्छन्। कहिले गन्हाउँछौं भनेर अपमान गर्छन्। उद्देश्य भनेको हामीलाई यहाँबाट हटाउने हो।”

7-1757062045.jpg
   १५ वर्षदेखि गागन खोलाको छेउमा बसेको यो परिवार यसअघि गोलबजार–१३ दुर्गापुरबाट पनि जातीय उत्पीडनकै कारण विस्थापित भएको थियो। सुकुम्वासी परिवार सार्वजनिक जमिनमा बस्दै आएको हो।

   पीडितका अनुसार करिब चार वर्षअघि उनीहरूले पालेका १८ वटा सुँगुरलाई विष खुवाइयो, एक वर्षअघि त घर नजिकैको हातेपम्पको पानी खान पनि रोक लगाइएको थियो। त्यसपछि बाध्य भएर नयाँ कल गाडेर बसोबास गर्नुपरेको हो।

    स्थानीय वडाध्यक्ष देवनारायण यादवले डोम परिवारमाथि लगातार विभेद भएको स्वीकार गर्दै यसलाई “अत्यन्तै गलत व्यवहार” भनेका छन्। उनले भने, “कहिले शौचालयको फोहोर पानी बगाउने, कहिले दुर्व्यवहार गर्ने काम भइरहेको छ।”

6-1757061221.jpg
   तर, आरोपित पक्षका दुखरन महतोले भने विवाद जातीय नभई जग्गासम्बन्धी भएको दाबी गरेका छन्। उनका अनुसार डोम परिवारले सडकअगाडिको निजी जग्गा कब्जा गरेको कारण झगडा चर्किएको हो।

  यस घटनाबारे पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्। तर प्रहरी अहिलेसम्म आरोपितहरूसँग बयानसम्म लिएको छैन। जिल्ला प्रहरी प्रमुख एसपी अनन्तराम शर्माले भने, “उजुरी आएको छ। पुरानो विवाद देखिन्छ, विस्तृत रूपमा अनुसन्धान भइरहेको छ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सामाजिक