मङ्गला गाउँपालिकामा पाखो सम्याएर बहुउद्देश्यीय खेलमैदान निर्माण
म्याग्दी, कात्तिक २१
म्याग्दीको मङ्गला गाउँपालिका–२ लाम्पाटामा नयाँ बहुउद्देश्यीय खेलमैदान निर्माण गरिएको छ। मङ्गला शिक्षा क्याम्पसको छात्रावास परिसरभित्र रहेको पाखो जमिन सम्याएर खेलमैदान तयार गरिएको हो क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाका अनुसार उक्त मैदानमा ‘सेभेन ए साइड’ फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्सजस्ता खेल सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।

“गाउँपालिकाको केन्द्र बाबियाचौरमा खुला स्थानको अभावका कारण खेलाडीहरूलाई अभ्यास गर्न कठिनाइ भइरहेको थियो,” अध्यक्ष थापाले भने, “लाम्पाटामा मैदान बनेपछि विद्यार्थी र स्थानीय खेलाडी दुवैलाई सुविधा भएको छ।”
क्याम्पसको छात्रावास भवन निर्माणका क्रममा पछाडिको भागमा पर्खाल लगाएर पाखो जग्गा स्थिर पारिएको थियो। त्यसपछि गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको पाँच लाख रुपैयाँ बजेटबाट जमिन सम्याएर खेलमैदान निर्माण सम्पन्न गरिएको हो।

गाउँपालिकाका प्राविधिक शाखा प्रमुख रुचेन्द्र अधिकारीका अनुसार मैदानको लम्बाइ ७५ मिटर र चौडाइ ३८ देखि ४० मिटरको बीचमा रहेको छ। नयाँ खेलमैदानमा बिहीबारदेखि गाउँपालिकास्तरीय छैठौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ।
गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले खेलमैदानको निर्माणले क्याम्पसको पूर्वाधार र गतिविधिको प्रचारप्रसारमा सहयोग पुग्ने बताए।
“अब मैदानको एक छेउमा प्याराफिट, मञ्च र डिलमा तारबार जडान गरेर अझ व्यवस्थित बनाइनेछ,” उनले जानकारी दिए।
पाँचखाल नगरपालिकामा चुनावी एजेन्डा बन्यो आलुको मूल्य र मल अभाव
भोजपुर नगरपालिकामा सुन्तलाका बोट सुक्न थालेपछि किसान समस्यामा
विष्णुपुर गाउँपालिकामा सरस्वती पूजाको तयारी, मूर्तिकारहरू शृङ्गारमा व्यस्त
हेटौँडा उपमहानगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
काइके गाउँपालिकाबाट निमा रोकाय गुम्बा विकास समितिको अध्यक्षमा चयन




-1770649988.jpg)
-1770567812.jpg)