हेलम्बु पालिकामा मेलम्ची पानी पथान्तरण रोकियो, स्थानीयले ताला लगाए
काठमाडौं, कात्तिक २१
मेलम्ची खानेपानी आयोजना प्रभावित स्थानीयहरूले पानी पथान्तरण रोक्दै आयोजनाको साइट कार्यालयमा ताला लगाएका छन्। हेलम्बु गाउँपालिका–१, अम्बाथानस्थित सुरुङमार्फत काठमाडौं पठाइँदै आएको मेलम्चीको पानी स्थानीय आन्दोलित समूहले रोक्का पारेका हुन्।

मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले मागहरू कार्यान्वयन नभएसम्म पानी पथान्तरण गर्न नदिने अडान लिएको छ। समितिका उपाध्यक्ष नवराज गुरागाईंका अनुसार, यसअघि भएका सहमतिहरूलाई सरकारले बेवास्ता गरेपछि पुनः आन्दोलनमा जान बाध्य भएका हुन्।
“बाढीपछि बारम्बार सम्झौता भए तर कुनै पनि कार्यान्वयन भएन,” गुरागाईंले भने, “अब माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं पठाउन दिइने छैन।”

संघर्ष समितिले नदी नियन्त्रणका लागि तटबन्ध निर्माण, जोखिममा रहेका बस्तीको संरक्षण, बाढीपीडितको पुनर्स्थापना र क्षतिपूर्ति लगायतका माग अघि सारेको छ।
समितिले बाढीमा मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति रु १० लाख क्षतिपूर्ति, घर–व्यवसाय निर्माणका लागि २० लाख अनुदान, स्थानीय सरकारमार्फत खानेपानीको लेवी उपलब्ध गराउने, र मेलम्ची करिडोरका प्रभावितको ऋण मिनाहा गर्नुपर्ने माग राखेको छ।

आन्दोलनमा मेलम्ची बाढीपीडित संघर्ष समिति, विभिन्न राजनीतिक दलका प्रतिनिधि र स्थानीय समुदायको सक्रिय सहभागिता रहेको छ। उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।
काठमाडौँ महानगरपालिकाको पहल: रुद्रमति खोलामा व्यापक सरसफाइ अभियान
बारबर्दिया नगरपालिकाको पहलमा जब्दीघाट काठेपुल निःशुल्क
कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाबीचको सीमा विवादले गडविजुला ताल सङ्कटमा
बुढीगङ्गा नगरपालिकामा नगर भवन निर्माण ठेक्कामा अनियमितता




-1775551031.png)
