धनकुटाका सात पालिकामा ६८ खानेपानी आयोजना विस्तार, १७ हजार उपभोक्तालाई राहत
धनकुटा,कार्तिक २५
धनकुटा — लामो समयदेखि जरुवा, मुहान, कुवा र पँधेरा सुक्दै गएपछि पानीको तीव्र अभाव झेल्दै आएको धनकुटामा अब राहत मिल्ने सम्भावना बढेको छ। संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयको समन्वयमा पुनःस्थापना, गुणस्तर सुधार र नयाँ आयोजना गरी कुल ६८ वटा खानेपानी आयोजना थपिएका छन्। करिब २५ करोड रुपैयाँ लागतका यी आयोजना सम्पन्न भएपछि धनकुटाका करिब १७ हजार उपभोक्ता लाभान्वित हुनेछन्।
सहिदभूमि गाउँपालिका–६ सुन्तलाबारीकी अम्बिका भण्डारी भन्छिन्, “पहिले खेत र खोलाको पानीले गुजारा चलाउनु पर्थ्यो, अब ट्याङ्की र पाइप जडान भएपछि पानीको दुःख कम हुने आशा छ।”
चाम्चा र सुन्तलाबारी जस्ता बस्तीहरूमा विगतका स्रोत सुकेका कारण दशकौँदेखि खानेपानीको गम्भीर समस्या रहँदै आएको थियो। घरसंख्या बढ्दै गएसँगै उपलब्ध स्रोतले माग पूरा गर्न नसक्दा स्थानीयहरू वैकल्पिक उपायमा निर्भर रहँदै आएका थिए।

संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका इन्जिनियर अंकितमान श्रेष्ठका अनुसार धनकुटा, महालक्ष्मी, पाख्रीबास नगरपालिका तथा छथर जोरपाटी, चौविसे, साँगुरीगढी र सहिदभूमि गाउँपालिकामा भूमिगत र लिफ्ट प्रविधिमा आधारित आयोजना सञ्चालन भइरहेका छन्। कुल ६८ आयोजनाअन्तर्गत १३ वटा लिफ्ट प्रविधिका आयोजना हुन्, जसले करिब १३ हजार घरधुरीमा स्वच्छ पानी पुर्याउने लक्ष्य लिएको छ। तीमध्ये महालक्ष्मीको लेगुवा, छथर जोरपाटीको तेलिया–तांखुवा, सिंधुवा र चौविसेको फलामेटार लगायतका स्थानमा आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन्। केही आयोजनाले सेवा सुरु पनि गरिसकेका छन्।

चौविसे गाउँपालिकाको हंसमोरङकी गंगा बस्नेतका अनुसार नयाँ आयोजनाले गाउँमा नयाँ उत्साह ल्याएको छ। “पहिले खोलाको पानी खान्थ्यौं, अहिले धारा नजिकै पानी आउँछ भन्ने विश्वास जागेको छ,” उनले भनिन्।
तेलिया, तांखुवा र परेवादिनका करिब पाँच हजार उपभोक्ताका लागि निर्माणाधीन बृहत् तमोर लिफ्टिङ खानेपानी आयोजना पनि अगाडि बढिरहेको छ। करिब १७ करोड रुपैयाँ लागतको यो आयोजनाले तमोर नदीको त्रिवेणी घाटबाट पानी उठाएर पाथीभरा, लामिछानेडाँडा हुँदै पिङडाँडासम्म ल्याई ट्याङ्कीमा भण्डारण गर्ने योजना बनाइएको छ। हालसम्म करिब ६५ प्रतिशत काम सम्पन्न भएको कार्यालयले जनाएको छ।
इन्जिनियर श्रेष्ठका अनुसार सबै आयोजना समयमै सम्पन्न भए “एक घर, एक धारा” राष्ट्रिय अभियानलाई टेवा पुग्नेछ। हाल धनकुटाको कुल जनसंख्याको ८५ प्रतिशतले मात्र आधारभूत खानेपानी सुविधा पाएका छन् भने सुरक्षित र स्वच्छ पानी पाउनेको संख्या अझै २५–३० प्रतिशतमै सीमित छ।
यी नयाँ आयोजना पूरा भएपछि धनकुटा जिल्लामा सुरक्षित, दिगो र भरपर्दो खानेपानी सेवा स्थायी रूपमा उपलब्ध हुने अपेक्षा गरिएको छ।
बुढीगङ्गा नगरपालिकामा नगर भवन निर्माण ठेक्कामा अनियमितता
शितगङ्गा नगरपालिकाको पहलमा इलाका प्रशासन कार्यालय स्थापना माग
घोराही उपमहानगरपालिकामा राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
तानसेन नगरपालिका खेलप्रेमी र सर्वसाधारणले लुम्बिनी लायन्सलाई स्वागत गरे
काठमाडौं महानगरपालिकाको नेतृत्वमा पुस्तान्तरण केवल नेतृत्व फेर्नु होइन : उपमेयर डंगोल





